सत्तामा जान मरिहत्ते गर्दैनाैँ, प्रचण्डजीकाे अनुहार हेरेरमात्रै हुँदैन : माधव नेपाल

 पुस २०, २०७९ बुधबार १५:२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताउनुभएको छ । यही पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको भनाइ छ । 

पार्टीको भातृ सङ्गठन युवा सङ्घ नेपाल काठमाण्डाै जिल्ला कमिटीले आज बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटब्युराे बैठकले सरकारमा जाने/नजानेबारे निर्णय नलिएको उहाँले बताउनुभयाे । प्रचण्डको अनुहार हेरेरभन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरूको गतिविधिलाई हेरेर पुस २६ गते नै त्याे निर्णय गर्न आफूहरू तयार रहेको उहाँकाे भनाइ छ । 

उहाँले भन्नुभयो, ‘कसैकसैले समाचारमा एकीकृत समाजवादी त अलमलमा पर्‍याे भनेर लेखे । त्याे लेखेर ठिक गरे । पोलिटिकल सिनारियो त क्लिएर हुनुपर्‍याे नि ! अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौँ । मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौँला तर अनुहारलेमात्रै हुँदैन । त्यहाँ अनेकहरू छन । के–के गर्छन् भन्ने थाहा छैन । अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के हो हतार ? हामीलाई के बित्दो छ र ? २६ गते हो सरकारले विश्वासतको मत प्राप्त गर्ने । त्याे दिनसम्म हामीले निर्णय गरे पुगेन ? भैगो नि ! सस्पेन्समै रहोस् । दुनिँया कुदिरहून् । कुराकानी हुन्छ, छलफल हुन्छ । अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ ।’

अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताउनुभयो । उहाँले पार्टीका सांसदहरूलाई दलको ह्विप लाग्ने भन्दै सचेत गराउनुभयो । सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदहरूलाई दलको ह्विप लाग्नेतर्फ सचेत गराउनुभएको हो । उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदहरूलाई ह्विप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिरसमेत गर्नुभयो । राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदहरूलाई ह्विप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया