नेपाल टी–२० लिग : जनकपुरले लुम्बिनीलाई हरायाे

 पुस २२, २०७९ शुक्रबार १३:४५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज शुक्रवार भएकाे पहिले खेलमा जनकपुर राेयल्स क्वालिफायरमा पुगेकाे छ । त्रिवि मैदानमा भएकाे खेलमा लुम्बिनी अल स्टार्सलाई २३ रनले हराउँदै जनकपुरले क्वालिफायरमा प्रवेश गरेकाे हाे । 

दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् । लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा र जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए । 

जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित १७ ओभरमा सात विकेट गुमाएर एक सय ३६ रनमात्र बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५, लाहिरु मिलन्थाले ३२, सुनिल धमलाले २७ रन बनाए । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले तीन र समिउल्लाह शिनवारीले दुई विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे जनकपुरले १७ ओभरमा छ विकेट गुमाएर एक सय ५९ रन बनायो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रन बनाए । त्यस्तै शरफुदिन असरफले ३४, खडक बोहोराले २२ र शमिउल्लाह शिनवारीले २० रन बनाए । लुम्बिनीका सागर ढकाल र कप्तान कुशल भुर्तेलले दुई/दुई विकेट लिए ।

लुम्बिनी १० खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान १० खेल खेलेकाे जनकपुर १४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । 

अब फाइनलमा पुग्न लुम्बिनी र जनकपुरले पर्सि आइतवार हुने पहिलो क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

अन्तिम अपडेट: चैत २२, २०८०

तपाईको प्रतिक्रिया