आर्थिक नीति र कुटनीति नजान्नेलाई सरकारले राजदूत बनाएर पठाउँछ : परराष्ट्रविद् आचार्य

 पुस २२, २०७९ शुक्रबार १५:४६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कुटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ । आर्थिक कुटनीतिमा देश पछि परिरहँदा पूर्व परराष्ट्रसचिवसमेत रहनुभएका उहाँले देशको आर्थिक कुटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताउनुभयो । 

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक नीति र कुटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण देशको आर्थिक कुटनीतिक फलदायी हुन नसकेको पनि स्पष्ट पार्नुभयो । उहाँले आर्थिक कुटनीति कार्यान्वयनका लागि नीतिगतरूपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

देशमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाइ थियो । उहाँले देशको आर्थिक विकासका लागि भारत र चीन दुवै देशबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘लगानीकर्ता नेपालमा लगानी गर्न आउँदैन । किनभने नीतिगत स्पष्टता भएन । कतिपय आयोजना सरकारले बनाउने छ । कतिपय सेनाले बनाउने छ । त्यसमा पनि त चीनका ठेकदारहरू छन । पुल, बाटो, सुरुङ बनाउन चीनकै ठेकदार चाहिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना मन्त्रीले सही गरेर गेजुवा कम्पनीलाई दिनुभयो । लगानी ऐनअन्तर्गत हेर्ने हो भने त्यो लगानी बोर्डको मातहत पर्छ । पाँच सय मेगावाटभन्दा माथिको आयोजना लगानी बोर्डले अघि बढाउने हो । त्यो सिधै मन्त्रीले दिनुभयो । त्यो दिनुहुँदैन थियो । दिएपछि अर्को सरकारले आएर झिकिदियो । यस्तो अवस्थामा लगानीकर्ता कसरी आउँछ ? त्यस कारण यस्तो खालको कुरामा नीतिगत स्पष्टता हुन आवश्यक छ । लगानी बोर्ड बन्यो  तर त्यसले काम गर्न सकेको छैन । निर्णय गर्दा पनि ढिलो हुन्छ । यसको काममा सुधार गर्नुपर्छ । कतिपय हाम्रा राम्रा कुराहरू पनि छन् । त्यसको प्रचार गर्नुपर्‍याे । भारत र चीनको लगानीमा ध्यान दिनुपर्‍याे । आर्थिक कुटनीति भन्छौँ तर हामी न आर्थिक नीति न कुटनीति जान्ने राजदूत बनाउँछौँ । यस्तो भएपछि आर्थिक कुटनीति हुन सक्दैन ।’

परराष्ट्रविद् आचार्यले आर्थिक कुटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताउनुभयो । बैठकका विमला राई पौडेललगायतका सांसदले आर्थिक कुटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राख्नुभएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया