कांग्रेसले राप्रपालाई प्रधानमन्त्रीकाे प्रस्ताव गरेकाे छैन : रमेश लेखक

 पुष २२, २०७९ शुक्रबार १७:३६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताउनुभएको छ । 

आज शुक्रवार नयाँ बानेश्वरमा रहेकाे संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको बताउनुभएकाे हाे । उहाँले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरणलाई भत्काएर नयाँ समीकरण बनाउने काममा नलागेको पनि पटक–पटक दोहोर्‍याउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी यो समीकरण भत्काउने, नयाँ समीकरण बनाउने काममा लागेका छैनौँ । गठबन्धन भत्काउने, नयाँ गठबन्धन बनाउने कुरा छैन । अहिले हामी आन्तरिक तयारीमा छौँ । हामी अब यो नयाँ प्रतिनिधि सभामा पार्टीलाई एकताबद्ध, सशक्तरूपले कसरी अगाडि लिएर जाने ? हाम्रा भूमिकाहरू के हुन्छन् भन्नेबारेमा केन्द्रित भएर तयारीमा जुटिसकेका छौँ । राप्रपाले के भनेछ, त्यो मलाई थाहा छैन । हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ ।’

प्रमुख सचेतक लेखले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी दिनुभयाे । आफूहरू अहिले पार्टी संसदीय दलको भोलि (शनिवार) बिहान बोलाइएको बैठकको गृहकार्यमा जुटेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनु हुनेछ । कांग्रेस प्रमुख सचेतक लेखकले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने पत्र आफ्नो दलमा पनि आएको र त्यसका लागि आन्तरिक छलफल सुरु गरिएको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया