आफ्नाे पार्टीका सांसदहरुलाई ओलीकाे निर्देशन : संसदीय गतिविधिहरुलाई प्राथमिकतामा राख्नुस्

 पुस २३, २०७९ शनिबार १४:३६:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय गतिविधिमा सहभागी हुने कुरालाई पहिलो प्राथमिकतामा राख्न पार्टीका नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिहरुको कामलाई प्राथमिकता दिएर अघि बढ्न अध्यक्ष ओलीले पार्टीका सांसदहरुलाई सचेत समेत गराउनु भयो । शनिबारबाट काठमाण्डौमा सुरु भएको पार्टीका सांसदहरुको २ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसद भएको हुनाले संसदीय गतिविधिको काममा ध्यान दिएर अघि बढ्न पार्टीका सांसदहरु केन्द्रित हुनुपर्ने बताउनु भयो । पार्टी संसदीय दलको बैठकमा र अन्य गतिविधिहरुमा पनि समयमै पुग्ने काम गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

उहाँले भन्नु भयो, ‘हामीले कुनै पनि कार्यक्रममा समयमा आउने र समयभरी बस्ने र खासगरी हामी सांसदहरुलाई संसदीय अभ्यासमा संसदको बैठकमा भाग लिन नभ्याउने, संसदको काममा भाग लिन नभ्याउने, प्रशिक्षणको कार्यक्रममा भाग लिन नभ्याउने, अरु बाहिरबाहिर भ्याउने भन्ने कुरा हुँदैन । कहिले कहिले नभ्याउने परिस्थिति पनि पर्न सक्छ । तर आम रुपमा भन्ने हो भने हामी जनप्रतिनिधि हौं, हामी सांसद हौं । र, हामीले सांसदको हैसियतले गर्नुपर्ने कामलाई प्राथमिकता दिनु पर्दछ । संसदीय दलको बैठक जति बजे बोलायो, त्यति बजे उपस्थित हुनु पर्दछ । संसदीय अन्य गतिविधिहरुमा जति बजे बोलाइएको छ, त्यतिबजे उपस्थित हुनु पर्छ । समयसीमाको पालना गर्नु पर्दछ । त्यसमा सबै साथीहरुले ध्यान दिनु पर्दछ ।’

अध्यक्ष ओलीले सांसदहरुले समयसीमालाई हेक्का राखेर अघि बढनुपर्ने समेत बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया