माघे सङ्क्रान्ति मेलाका लागि नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोको समयमा खुलाइँदै

 पुष २४, २०७९ आइतबार १०:५१:४ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन - देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोको समयमा पनि खुलाइने भएको छ । आउँदो शनिवार ३० गते र माघ १ गते दुई दिन दिउँसोको समयमा सडक खुला गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यो दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ।

तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उहाँले जानकारी दिनुभयो । अहिले यो सडक खण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन पुग्ने गर्दछन् ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उहाँले बताउनुभयो ।

देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा र्‍याफ्टिङको व्यवस्था गरिएको छ । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई त्यही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ ।

समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ । मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ ।

विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् । गाडीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ ।

देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ ।पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया