नयाँ दल र सांसदकाे उपस्थितिले ईर्ष्या नभइ मनैदेखि खुसी मिलेकाे छ : प्रधानमन्त्री प्रचण्ड

‘देशमा केही हुँदैन भन्ने हाेइन, गरेमा के हुँदैन भन्ने सन्देश दिनुपर्छ’

 पुस २५, २०७९ सोमबार १३:४६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मिलेर देशलाई समृद्ध बनाउनु आफ्नो एकमात्र उद्देश्य रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फरक–फरक राजनीतिक दलबाट आएका भए पनि सबैको साझा प्रतिबद्धता देश निर्माण हुनुपर्ने बताउनुभयो ।

देश निर्माणको विषयमा फरक दल नभनी सबै एकै ठाउँमा उभिनुपर्ने प्रचण्डको भनाइ छ । ‘अब क्रिया प्रतिक्रिया नभइ काम गर्ने हो । समस्या केलाएर बस्ने छुट छैन, समाधानको सूत्र खोजेर अघि बढ्नुछ’, प्रचण्डले भन्नुभयो । 

उहाँले संसदमा नयाँ दल र सांसदको उपस्थितिमा आफूलाई ईर्ष्या नभइ मनैदेखि नै खुसी मिलेको बताउनुभयो । ‘नयाँ दल र नयाँ अनुहारको प्रवेश भएको छ । विना कुनै ईर्ष्या मनैदेखि भन्न चाहन्छु, यो लोकतन्त्र र सम्प्रभुताको जित हो । केही गर्ने आवेग र हुटहुटीलाई सम्मान गर्नुपर्छ । अबको संसद्को अर्जुनदृष्टि सुशासन र समृद्धि हुनेछ’, प्रचण्डले भन्नुभयो । 

उहाँले देशमा केही हुँदैन भन्ने भाष्यलाई बदलेर अब गरेमा के हुँदैन भन्ने सन्देश दिने आफ्नो प्रयास रहने बताउनुभयो । राष्ट्रिय एकता बलियो बनाउने  र आर्थिक क्रान्तिमार्फत समृद्ध र न्यायपूर्ण राज्य निर्माण गर्ने आफ्नो प्रयासमा साथ दिन पनि प्रधानमन्त्री प्रचण्डले सबै दलसँग आग्रह गर्नुभयो । 

उहाँले संसदमा हुने अभ्यासलाई अब सबैले गौरव गर्ने गरी अघि बढाउनुपर्ने पनि बताउनुभयो । ‘संसद्का अभ्यासलाई नागरिकले गौरव गर्ने बनाउनुपर्छ । सहमतिमात्र होइन हाम्रा मतभेदहरू पनि मर्यादापूर्ण हुनेछन् । आफ्नो प्रयास यसैमा केन्द्रित हुनेछ’, उहाँले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया