‘ओलीले संसद् विघटन ठिक थियाे भन्दा प्रचण्ड टेबुल ठाेकाैँ कि नठाेकाैँ भनेर अलमलिनु सामान्य हाेइन’

 पुष २५, २०७९ सोमबार १६:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले संसद्को पहिलो बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्बोधनले उहाँहरूका बीचमा विग्रहको बीजारोपण भएको टिप्पणी गर्नुभएकाे छ । सोमवार प्रतिनिधि सभा बैठकमा भाग लिन संसद् भवन नयाँ बानेश्वर पुग्नुभएका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

ओलीले अघिल्लो प्रतिनिधि सभा विघटनलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भनेको भन्दै त्यो कुरा नै विग्रहको कारण बन्नसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयाे, ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रधानमन्त्रीलाई एउटा अवस्थामा भने बडो अफ्ठ्याराेमा पार्नुभएको मैले याद गरेँ । ओलीले प्रतिनिधि सभा विघटन गरेको कुरा सोह्रै आना सत्य थियो, त्यो नागरिकको पक्षमा थियो, त्यसलाई प्रतिगामी भन्नेहरू नै प्रतिगामी हुन् भन्दै गर्दा अहिलेका प्रधानमन्त्रीले टेबुल ठोकौँ कि नठोकौँ भनेर अलमलमा परेको देख्दै गर्दा मलाई अलिकति सहानुभूति प्रकट गर्न मन लाग्यो । यो हेर्दा सामान्य अलमल देखिए पनि यसलाई मैले सामान्य अलमल मानेको छैन । किनकि यो विषयको हल नगरिकन, यो विषयको बारेमा एक पटक पनि छलफल नगरिकन, सामान्य शुभेच्छा पनि नगरिकन दुई वटा पार्टी एक ठाउँ जोडिनुभएको छ । पहिलो बैठकमा उहाँहरूले गरेको सम्बोधनले यो विषय नै विग्रहको कारक बन्ने सङ्केत गर्छ ।’ 

सांसद थापाले वर्तमान सरकारको स्थिरता चुनौतीको विषय भएको पनि बताउनुभयाे । उहाँले अघिल्लो पटक वर्तमान सत्तारूढ गठबन्धनले गठबन्धन जोगाउन नसकेको भन्दै यस पटक पनि गठबन्धन टिक्नेमा आशङ्का व्यक्त गर्नुभयो । चुनावअघि एउटा गठबन्धन र चुनावपछि अर्को गठबन्धनको स्वरूप भएकाले पनि सरकारको स्थिरतामा चुनौती भएको उहाँको भनाइ छ । 

महामन्त्री थापाले अहिलेको निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकार बन्ने र बदलिने कुरालाई सामान्यरूपमा लिनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘चुनावभन्दा अगाडि एउटा गठबन्धन, चुनावको लगत्तैपछि अर्को गठबन्धन बनेर यो संसद्को यात्रा प्रारम्भ भएको छ । सरकारमा बसिरहेको दलहरू एक ठाउँ टिक्ने कुरा, सरकारको स्थिरताको कुरा नै एकदमै धेरै ठूलो चुनौतीको रूपमा लिएको छु । तर यो निर्वाचन प्रणालीलाई स्वीकार गरिसकेपछि सरकारहरू यसरी बन्छन्, बदलिन्छन् भन्ने कुरालाई सामान्यरूपमा स्वीकार गर्नुपर्‍याे ।’

महामन्त्री थापाले सरकारले सरकारको भूमिका र प्रतिपक्षले प्रतिपक्षको भूमिका इमानदारितापूर्वक निर्वाह गरेमा संसदमा कुनै पनि समस्या नआउने बताउनुभयो ।

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया