सिङ्गै संसद् विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री

 पुस २५, २०७९ सोमबार १६:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको आज सोमवारको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै होइन, सिङ्गै हाउस विश्वासको मतमा उभिन्छ भन्ने मेरो विश्वास छ ।’

प्रतिनिधि सभाको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा सबै पार्टी र स्वतन्त्र सांसदले आ–आफ्नो धारणा राखेको उल्लेख गर्दै उहाँले नयाँ सुरुवात गर्नुपर्छ भन्ने प्रतिबद्धता सबै सांसदबाट व्यक्त भएको बताउनुभयो । ‘देशका अगाडि विद्यमान समस्या समाधान गर्न सबै मिलेर जानुपर्छ भन्ने सबैको भावना व्यक्त भएको छ’, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले भोलि मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिनु हुने भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले प्रधानमन्त्री प्रचण्डबाट प्राप्त विश्वासको मत लिनेसम्बन्धी सूचनाबारे जानकारी गराउनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया