नेपालमा घुस खानु, भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भयाे : अध्यक्ष केसी

 पुष २५, २०७९ सोमबार १७:२४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले सङ्घीयतालाई बचाउन नसकिने बताउनुभएको छ ।

आज सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा उद्योग कलकारखाना खोल्नुपर्नेमा भएका कारखानाहरुलाई पनि निजीकरण गर्दा समस्या उत्पन्न भइरहेको बताउनुभयो । उहाँले अहिले देशमा मन्त्री, सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिले पनि देश बेवारिसे भएको भन्दै राजनीतिक दलहरू सत्तामा कसरी जाने ? र जुनसुकै मूल्य चुकाएर भए पनि सरकारमा जानैपर्ने स्थिति विकराल बन्दै गएको बताउनुभयो । 

अध्यक्ष केसीले चुनावमा प्रतिस्पर्धा गर्न सक्ने अवस्था नरहेको भन्दै यो अवस्था अहिलेका राजनीतिक दलहरूले थुपारेको बताउनुभयो । राजनीतिक पार्टी, नेता, सांसद, मन्त्रीहरूप्रति नागरिकको आस्था नरहेको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि धेरैले पानी खाँदै वकालत गरेको मैले सुनेको थिएँ, देश स्विट्जरल्यान्ड बन्छ, भयो त त्यस्तो ? देशमा उद्योग कलकारखाना खोल्नु नपर्ने, भएका सार्वजनिक कलकारखाना निजीकरण गर्ने, व्यक्तिलाई दिने । देशमा मन्त्रीको सङ्ख्या बढी भयो भने, सांसदको सङ्ख्या बढी भयो भने अर्थतन्त्रले धान्छ । अहिले पनि देश बेवारिसे नै छ । जुनसुकै मूल्य चुकाएर भए पनि सत्तामा जाने भन्ने मानसिकता छ । चुनाव लडिसक्नु, गइनसक्नु भइसकेछ । राजनीतिक पार्टीप्रति, नेता, सांसद, मन्त्रीहरूप्रति जनताको आस्था छैन । पार्टीका कार्यकर्तालाई यही संस्कृति सिकाइराख्यौँ भने हामीले देश जोगाउन सक्दैनाैा । सङ्घीयता जोगिनै सक्दैन ।’ 

अध्यक्ष केसीले न्यायालयदेखि सबै क्षेत्रमा राजनीति हाबी भएको भन्दै सबै कुरा नसुध्रिएसम्म देशको विकास गर्न नसकिने बताउनुभयो । नेपालमा घुस खानु र भ्रष्टाचार गर्नु नैतिक अधिकारजस्तो भएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया