प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदै : कांग्रेसले के गर्ला ?

 पुस २६, २०७९ मंगलबार ६:५०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै हुनुहुन्छ । प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गएको १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्रीमा नियुक्त भइसकेपछि उपधारा (४) बमोजिम ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । संसद् बैठक बिहान ११ बजे बस्दै छ । माओवादी केन्द्रसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल (जसपा), जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टी तथा तीन जना स्वतन्त्र सांसदको समर्थनमा उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो  ।

यसैबीच, प्रधानमन्त्री प्रचण्डलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिनुभएको छ । हिजो बेलुका भएको भेटमा कांग्रेस सभापति देउवाले पार्टीमा छलफल गरेर मत दिने आश्वासन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सभापति देउवाले विश्वासको मत दिने तयारी गरेपछि कांग्रेसभित्र विवाद देखिएको छ ।

विश्वासको मत दिने कि नदिने भन्नेमा छलफल गर्न देउवाले संसदीय दलको बैठक बोलाउनु भएको छ । बिहान ९ बजे बस्ने बैठकले यसबारे औपचारिक निर्णय गर्ने कांग्रेस नेताहरुले बताएका छन् । देउवाले प्रधानमन्त्री दिन नमान्दा कांग्रेस नेतृत्वको गठबन्धन छोडेर प्रचण्डले एमालेसँग सहकार्य गर्नु भएको थियो ।

सत्ता गठबन्धन दलले प्रतिपक्षी दलसँग पनि विश्वासको मत माग्ने निर्णय गरेअनुसार प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न उहाँको निवास धुम्बाराही जानुभएको थियो । अहिलेसम्म सत्तारूढ दलबाट १ सय ६९ सांसदको समर्थन छ । गएको १० गते तत्कालीन पाँच दलीय सत्ता गठबन्धन त्यागेर एमालेसँग मिलेपछि पहिलो पटक प्रचण्ड र कांग्रेसका सभापति देउवाबीच भेटवार्ता भएको हो ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया