किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याइ

 पुष २६, २०७९ मंगलबार ८:८:५५ | रासस
unn.prixa.net

तस्बिर : रासस

नवलपरासी - माघेसङ्क्रान्ति नजिकिँदै जाँदा तरुल खन्न र बिक्री गर्न किसान व्यस्त बनेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा उत्पादन भएको तरुल खनेर बजारमा बिक्रीका लागि उनीलाई भ्याइनभ्याइ भएको हो ।  

माघेसङ्क्रान्तिमा तरुलको माघ धेरै हुने हुँदा यतिबेला किसानले आफ्नो बारीमा लगाएको तरुल खनेर बजारसम्म लैजाने काम गरिरहेका छन् । माघेसङ्क्रान्तिमा तरुलको माग पनि हुने र सहजरूपमा बिक्री हुने भएपछि आफूले लगाएको तरुल खनेर बिक्रीका लागि बजार लगेको हुप्सेकोट गाउँपालिका–५ का मकरसिंह सारुमगरले बताउनुभयो । 'अहिले तरुलको माग धेरै हुन्छ, बिक्री गर्न पनि समस्या हुँदैन, यसैले अहिले लगाएको सबै तरुल खनेर बजार पुर्याइयो', उहाँले भन्नुभयो । आफूले यस वर्ष करिब दुई क्विन्टल तरुल बेचेको उहाँले बताउनुभयो ।

धौवादीका शेरबहादुर झेडीमगरले पनि आफूले लगाएको तरुल खनेर बजारसम्म पुर्याइसक्नुभएको छ । माघेसङ्क्रान्तिका दिनमा यसको महत्त्व हुँदा अहिले समयमै बजार पुर्याउन आफूहरू लागेको उहाँले बताउनुभयो । 'आजभोलिमा बेच्यो भने बेच्यो, पछि कसैले त्यति खोज्दा पनि खोज्दैन, भाउ पनि हुन्न त्यसैले अहिले लगाएको तरुल खनेर बेच्न चटारो  छ', उहाँले भन्नुभयो । एक दिनका लागि धेरै उपभोग हुने र अन्य समय खासै महत्त्व नहुने हुँदा धेरै लगाउनसमेत जोखिम रहेको उहाँले बताउनुभयो । तर अहिले लगाएको जति बजारीकरणमा भने  समस्या नभएको मगरको भनाइ छ ।

पहाडी क्षेत्रमा धेरैजसो किसानले तरुल लगाउने गरेको उहाँको भनाइ छ । किसानले अदुवा खेतीसँगै बीचमा तरुल लगाउने गरेका छन् । सबैजसो किसानले पञ्जे (हात्तीपाइले) तरुल लगाउने गरेको उहाँको भनाइ छ । यो तरुल स्वादिलो हुने हुँदा माग पनि धेरै हुने कारणले किसानले पञ्जे तरुल लगाउने गरेको उहाँको भनाइ छ ।

तरुल लगाउने किसानलाई तरुल बिक्रीबाट घर खर्च चलाउन र माघेसङ्क्रान्ति मनाउन सहयोग पुग्ने गरेको उहाँको भनाइ छ । 'तरुल बिक्रीबाट सामान्य घर खर्च पनि चल्छ, सङ्क्रान्ति मनाउन खर्च पनि पुग्छ', उहाँले बताउनुभयो ।

केही वर्षयताबाट तरुल उत्पादनमा भने कमी हुँदै गएको किसान तिलक रानाले बताउनुभयो । कीरा लाग्ने समस्याका कारण पछल्ला केही वर्षयता उत्पादनमा भने कमी हुँदै गएको उहाँले बताउनुभयो । अदुवा खेतीमा पञ्जे तरुल  लगाउँदा राम्रो हुने र बाहिर लगाउँदा राम्रो नहुने हुँदा अदुवा लगाउने सबैजसो किसानले तरुल लगाउने गरेको रानाले बताउनुभयो । तर पछिल्ला वर्षमा तरुलमा कीराको समस्या देखिएपछि किसानले थोरै–थोरै क्षेत्रफलमा लगाउने गरेको उहाँको भनाइ छ । यसले उत्पादनमा समेत कमी हुँदै गएको रानाले बताउनुभयो ।

नवलपुरको पहाडी क्षेत्रबाट अहिले दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यवसायी लालबहादुर सारुले बताउनुभयो । कावासोतीसहित दलदले क्षेत्रमा समेत त्यही मात्रामा तरुल पहाडी क्षेत्रबाट किसानले ल्याउने गरेको उहाँले बताउनुभयो । नवलपुरमा उत्पादन भएको तरुल स्थानीय बजारसँगै पोखरा र काठमाण्डाैमा खपत हुने गरेको उहाँको भनाइ छ । आफूले अहिले पहाडी क्षेत्रमा उत्पादन भएको तरुल दैनिकरूपमा पोखरा र काठमाण्डाैमा पठाउने गरेको सारुले बताउनुभयो ।

दैनिकजसो किसानले ल्याएको तरुल बिक्रीमा समस्या नभएको र सबै खपत हुँदै आएको उहाँले बताउनुभयो । सारुका अनुसार किसानले अहिले प्रतिकेजी ४५ रुपैयाँसम्म बुझ्ने गरेका छन् । आफूहरूले बाहिरी जिल्ला पठाउँदा भने ढुवानीसहित सबै लागत जोडेर मूल्य प्रतिकेजी ७० देखि ८० रुपैयाँसम्म पर्ने गरेको सारुले बताउनुभयो ।  नेपाली समुदायमा माघेसङ्क्रान्तिमा तरुल, सखरखण्डसँगै चाकु, सेलरोटीलगायतका परिकार खाने प्रचलन रहेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया