सरकारलाई विश्वासको मत दिनेबारे कांग्रेस सांसदकाे मत बाझियाे, कसले के भने ?

 पुष २६, २०७९ मंगलबार १२:५०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारलाई विश्वासको मत दिने विषयमा नेपाली कांग्रेसका सांसदहरुबीच मत बाझिएको छ । 

पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुपर्ने प्रस्ताव आइरहँदा सांसदहरुले भने त्यसको पक्ष र विपक्षमा आफ्ना धारणा राखिरहेका हुन्।

पार्टी संसदीय दलको बैठक बस्नु अघि आज सङ्घीय संसद् भवन परिसरमा पुग्नु भएका नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पालिकामा पनि सहकार्य गरेकाले माओवादी नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिँदा फरक नपर्ने बताउनु भयो । उहाँले  पालिकामा सहकार्य गरेर आएको माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेर जान समस्या नहुने स्पष्ट पार्नु भयो ।

सांसद बस्नेतले भन्नुभयो, ‘अहिलेको सरकारको नेतृत्व र कांग्रेस लामो समय गठबन्धनमा सहकार्य गर्दै आएका राजनीतिक पार्टीहरु हुन् । अब यो बीचमा तितरबितर भए । र, अहिले फेरि सँगै जाने कुरा उठ्न थालेको हो ।  एमाले माओवादी पहिले मिलेर केही समय लडाइँमा रहेका दलहरु मिलेर सरकार बनाएको यो अवस्थामा कांग्रेसले समर्थन जनाएछ भने विश्वासको मत दिएछ भने पनि आश्चर्य मान्नुपर्ने छैन । होइन अब ठूलो दलको हैसियतले लोकतान्त्रिक व्यवस्थामा प्रमुख प्रतिपक्षको भूमिका धेरै महत्त्वपूर्ण हुन्छ । बलियो प्रतिपक्ष भएन भने राम्रो पनि हुँदैन । त्यसकारण प्रतिपक्षमा बसेछ भन्ने पनि आश्चर्य मान्नुपर्ने अवस्था छैन । पालिकामा सहकार्य गरेकाले सरकारलाई समर्थन जनाउन त्यत्रो ठूलो समस्या छ जस्तो मलाई लाग्दैन ।’

अर्का सांसद रामहरि खतिवडाले भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी नेतृत्वको गठबन्धनलाई धोका दिएकाले सरकारलाई विश्वासको मत दिन नहुने तर्क गर्नु भयो । उहाँले प्रतिपक्षमै बसेर कांग्रेसले काम गर्दा उपयुक्त हुने दाबी समेत गर्नु भयो । सांसद खतिवडाले भन्नुभयो, ‘हामीलाई हिजो धोका दिएकै हो । हामीले अहिले पनि धोका दिएका छैनौँ । हामी सहमतिको राजनीतिमा सबैलाई लिएर जान तयार छौँ । तर सधैँ धोकाको राजनीतिमा विश्वास गरेर हुँदैन । अहिले हामीले प्रमुख प्रतिपक्षकै रुपमा काम गर्नु पर्छ भन्ने मलाई लाग्दछ ।’

कांग्रेसका लागि सरकारलाई समर्थन गर्न पनि सकिने र प्रतिपक्षमै बसेर अघि बढ्ने दुवै सम्भावना रहेकाले त्यसबारे गम्भीर छलफल गरेर निष्कर्षमा पुग्ने सांसद श्याम घिमिरेको मत छ । उहाँले विपक्षमै बसेर अघि बढ्दा पालिकाको गठबन्धन भत्किएर जाने भएकाले त्यसमा पनि पार्टीले विचार गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।

सांसद घिमिरेले भन्नुभयो, ‘वर्तमान सत्ता गठबन्धनमा गएर मिल्दा प्रतिपक्षको शून्यताको समस्या पनि सृजना गर्न सक्छ । त्यसैले समस्याहरु हामी कहाँ छन । यो बीचमा हामीले एउटा राजनीतिक सन्तुलन मिलाएर निर्णय लिने हो । आजको दिनमा हामी विपक्षमै बस्ने सम्भावना पनि छ । अर्कोतिर विपक्षसँग बस्दै गर्दाखेरी हाम्रो जुन पालिकादेखिको गठबन्धन छ । त्यो गठबन्धन भत्किएर नयाँ किसिमको नयाँ कटुता सृजना हुने सम्भावना पनि छ । यसलाई सन्तुलनमा मिलाएर अघि बढ्ने विषयमा गम्भीर भएर हामीले सोचेका छौँ । त्यो निष्कर्षमा हामी पुग्छौँ।’

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर अघि बढ्नुपर्ने पक्षमा हुनुहुन्छ भने महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा त्यस प्रस्तावको विपक्षमा उभिनु भएको छ ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया