यसअघिभन्दा फरक ढङ्गले काम गर्न चाहन्छु, सबैले मत दिएर विश्वलाई सन्देश दिनुहोस् : प्रधानमन्त्री प्रचण्ड

 पुस २६, २०७९ मंगलबार १३:३६:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभासमक्ष विश्वासको मत माग्नुभएको छ । विश्वासको मतको लागि मत विभाजन हुनुअघि संसदमा सम्बाेधन गर्दै प्रधानमन्त्रीले सबैजना मिलेर जाँदा देश अघि बढेका विगतलाई सम्झेर आज मत दिन आग्रह गर्नुभयो ।

‘हामी मिल्दा देश अघि गएको छ, नमिल्दा देश सङ्कटतिर गएको छ ।  २०७२ सालमा सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म विपक्षमा थिएँ, त्यतिबेला मैले संसदमा सत्तापक्ष र प्रतिपक्ष भन्ने छैन, यो सङ्कटलाई पार लगाऔँ भनेको थिएँ ’ प्रचण्डले भन्नुभयो । 

उहाँले अहिले पनि देश सङ्कटमै रहेको बताउनुभयो । अहिले देखिएका साना समस्या समाधान नगर्दा यसले ठूलो रुप लिन सक्ने भएकाले सबै मिलेर जानुपर्ने बताउनुभयो ।  ‘५० लाख मानिस गरिबीको रेखामुनि छन्, लाखौँ युवा परिवार छाडेर विदेशमा पसिना बगाउन बाध्य छन्, विकास निर्माण भद्रगोल छन्, विद्यालयले शैक्षिक क्यालेन्डरसमेत बनाउन सक्दैनन्, शान्ति प्रक्रियाका काम अधुरै छन्। यी सबै समस्याको समाधान हामी मिल्दा मात्रै सम्भव छ ’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो । 

उहाँले आफूलाई सबैले मत दिएर नेपालमा मात्रै नभएर विश्वमै गतिलो सन्देश दिन आग्रह गर्नुभयो । यसअघि आफू २ पटक प्रधानमन्त्री भएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले पहिलो पटक अनुभव नभएको, पार्टीभित्रको अन्तरकलह लगायतका कारण काम गर्न नपाएको तर मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण काेरिडोर, विद्युतीकरण लगायतका काम भएको बताउनुभयो । दोस्रो कार्यकाल पनि अप्ठ्यारोमै रहेको तर संविधान कार्यान्वनयको सुरुवात, नेपालको इतिहासमै पहिलोपटक आर्थिक वृद्धिदर ७ प्रतिशत नाघेको,  लोडसेडिङ अन्त्य लगायतका काम भएको उहाँको भनाइ छ । 

‘यसपटक फरक सङ्कल्पका साथ प्रधानमन्त्री भएको छु । यसअघिका कार्यकालमा सोचेजस्तो काम गर्न नसकेको स्वीकार गर्दछु । अहिले विश्वासको मत पाएमा मैले देशको लागि केही गर्ने सङ्कल्प बोकेर आएको छु । राजनीतिक दलप्रति नागरिकको अविश्वास छ भन्ने कुरा लुकाएर होइन स्वीकार गरेर अघि बढ्नुपर्छ’ प्रधानमन्त्रीले भन्नुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया