पेट्रोल पम्पलाई 'रिफ्रेसमेन्ट सेन्टर' बनाउनुपर्छ : सचिव मरासिनी

आयल निगमले मनायाे ५३ औँ वार्षिकाेत्सव

 पुस २६, २०७९ मंगलबार १७:१:१८ | रासस
unn.prixa.net

काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मसासिनीले पेट्रोल पम्पलाई 'रिफ्रेसमेन्ट सेन्टर' का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका मरासिनीले भन्नुभयो, ‘विकसित देशमा पेट्रोल पम्प रिफ्रेसमेन्ट सेन्टरका रूपमा रहेको पाइन्छ, नेपालका पेट्रोल पम्पलाई त्यहीरूपमा विकास गर्न सक्नुपर्छ ।’

आज नेपाल आयल निगमको ५३ औंँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पेट्रोल पम्पहरूलाई पूर्ण 'अटोमेटेड' र व्यवस्थित बनाएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन पनि सम्बद्ध व्यवसायीसँग आग्रह गर्नुभयो । 

कार्यक्रममा कार्यकारी निर्देशक उमेशप्रसाद थानीले अहिले पाइप लाइनबाट डिजेल मात्रै आइरहेकोमा पेट्रोललाई पनि पाइप लाइनबाटै ल्याउने प्रक्रिया निगमले अघि बढाएको बताउनुभयो । साथै पोखरालगायत देशका विभिन्न डिपोहरूमा निर्माणाधीन भर्टिकल ट्याङ्कहरूको निर्माण अन्तिम चरणमा पुगेको र इन्टरप्राइजेज रिसोर्स प्लान (ईआरपी) प्रणाली पूर्ण कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

नायब कार्यकारी निर्देशक नागेन्द्र साहले निगमले एक वर्षमा झन्डै ५० अर्ब रुपैयाँको नोक्सानी बेहोरेको भन्दै पछिल्लो समय मूल्य घट्दा केही राहत भए पनि अझै पनि भारतीय आयल कर्पोरेशनलाई ११ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको र नेपाल सरकारको सात अर्ब ऋण अझै तिर्न बाँकी रहेको जानकारी दिनुभयो । 

नेपाल पेट्रोलियम डिलर्स एसोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानले राज्यले पेट्रोलियम पदार्थको मूल्यमा राजनीति गर्न नहुने बताउनुभयो ।  

पेट्रोलियम ढुवानी राष्ट्रिय महासङ्घका महासचिव विश्व अर्यालले पनि पेट्रोलियम पदार्थको मूल्यलाई राजनीतिक लाभहानीको विषयको रूपमा हेर्न नहुने बताउनुभयो । उहाँले डिजलको मूल्यवृद्धिको असर बहुआयामिक हुने भन्दै कम्तीमा यसलाई सरकारले कर उठाउने माध्यमको रूपमा प्रयोग नहुनेमा जोड दिनुभयो । 

त्यस्तै नेपाल एलपी ग्यास उद्योग महासङ्घका अध्यक्ष कुशकुमार मल्लीले एलपी ग्यासको मूल्यजस्तै उद्योगी तथा ढुवानीकर्ताको कमिसनलाई समेत स्वचालित बनाउनुपर्ने बताउनुभयो । निगमले सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरेको उहाँको गुनासो थियो । 

वार्षिकोत्सव आयोजित कार्यक्रममा निगमको वार्षिक प्रकाशन 'प्रभात' विमोचन गरिएको थियो । कार्यक्रममा ५१ हजार रुपैयाँ राशीको सुवर्णविक्रम स्मृति पुरस्कार तथा पाँच जनालाई २५–२५ हजार रुपैयाँ राशीको 'निगम प्रोत्साहित पुरस्कार' वितरण गरिएको थियो । कार्यक्रममा निगममा २० वर्षदेखि निरन्तर काम गर्दै आएका कर्मचारीलाई दीर्घसेवा पदक तथा विभिन्न खेलकुद प्रतियोगितामा विजयी भएका कर्मचारीलाई समेत पुरस्कार प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया