अब काे हुन्छ प्रतिपक्षी दलकाे नेता ? यस्ताे छ कानुनी व्यवस्था

 पुस २६, २०७९ मंगलबार २१:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिनिधि सभाको मङ्गलवार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर : रासस

काठमाण्डाै – नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि अब विपक्षी दलको नेता को भन्ने प्रश्न उठेको छ । प्रचण्डले प्रधानमन्त्री पदका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेस गर्दा समर्थन नगरेको कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्ने र कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा विपक्षी दलका नेता बन्ने अनुमान थियो । तर आज संसदमा कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । 

सङ्घीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ को दफा २ (ङ) (१) अनुसार मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा त्योभन्दा बढी सदस्य भएको दलहरूमध्ये सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेता विपक्षी दलको नेता बन्नेछन् । अहिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमात्रै हुनुहुन्छ । उहाँहरू दलको तर्फबाट संसदमा एक–एक जना सांसदमात्रै हुनुहुन्छ । 

ऐनको अर्को बुँदामा मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रतिनिधि सभा वा राष्ट्रिय सभामा दश प्रतिशत वा त्योभन्दा बढी सदस्य भएको कुनै पनि दल नभएमा प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सभामुख वा अध्यक्षले तोकिदिएको दलको नेता विपक्षी दलको नेता बन्न पाउने व्यवस्था छ । यो व्यवस्थाअनुसार राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालमध्ये एक जनालाई सभामुखले विपक्षी दलको नेता तोक्न पाउनेछन् । प्रतिनिधि सभामा विपक्षी दलको सुविधा उपसभामुखसरह हुने छ । यस्तै विपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यलगायत विभिन्न निकायमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । 

यस्ताे छ व्यवस्था–

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया