नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए

 पुष २७, २०७९ बुधबार १६:०:१९ | रासस
unn.prixa.net

चितवन – यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो । 

‘गएको वर्षको पक्षी गणनामा ३८ प्रजातिका पक्षी भेटिएका थिए, यसपालिको गणनामा नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका पक्षी भेटिए’, उहाँले भन्नुभयो । चरा गणनाका क्रममा अहिलेसम्म नारायणी क्षेत्रमा नभेटिएको राज सुड सुडिया नामको पक्षी पनि अहिले भेटिएको चौधरीले बताउनुभयो ।

गएको वर्ष नदेखिएका विभिन्न चार प्रजातिका चरा यस वर्ष देखा परेको संयोजक चौधरीले बताउनुभयो । ‘यस वर्षको गणनामा जुरे हुटिट्याउ, बेल्चा ठुडे हाँस, जुरे हाँस र लाल खुट्टे टिम टिया प्रजातिका चरा फेला पारेका छन्’, उहाँले भन्नुभयो, ‘चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा गएको वर्ष यी प्रजातिका चरा गणना भएका थिएनन् ।’ 

नेपालको जल क्षेत्रमा एक सय ६२ प्रजातिका चरा पाइने गरेका छन् । तीमध्ये नारायणी नदी क्षेत्रमा यस वर्ष ती प्रजाति फेला परेको जनाइएको छ । नवलपुरतर्फको चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी तथा सिमसार क्षेत्रमा चार समूह बनाएर चरा गणना गरिएको थियो । सिघ्रौलीदेखि अमलटारी, सिघ्रौलीदेखि पिठौली, पिठौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक ब्यारेजसम्म गरी चार समूहमा चरा गणना गरिएको हो । गएको वर्षको तुलनामा यस वर्ष चराको समग्र सङ्ख्या घटेको प्रारम्भिक अनुमान गरिएको छ । 

‘यस वर्ष पनि समग्रमा चराको सङ्ख्या घटेको पायौँ’, चौधरीले भन्नुभयो, ‘प्रत्येक वर्ष नेपालमा क्रमिकरूपमा चराको सङ्ख्या घटिरहेको छ ।’ साइबेरियालगायत उत्तरी गोलार्धबाट चिसो छल्न यहाँ आउने पाहुना चरामध्ये यस वर्ष सबैभन्दा धेरै सङ्ख्यामा खोया हाँस देखिएका उहाँले बताउनुभयो । 

‘कुनै प्रजातिका चरा गएको वर्षभन्दा बढी र कुनै प्रजातिका चरा गएको वर्षको तुलनामा न्यून देखिएका छन्’, चौधरीले भन्नुभयो, ‘यस क्षेत्रमा चखेवा, खोया हाँस, जलेवा र पानी गौथली चरा धेरै पाइने गरेका छन् ।’ निकुञ्जसहित नारायणी नदी र सिमसारमा पाइने रैथाने चराको सङ्ख्यामा भने खासै फरक नदेखिए पनि आगन्तुक चराको सङ्ख्यामा धेरै नै कमी आएको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया