म्याग्दी : गलेश्वर मन्दिरमा पाँच महिनामा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी

 पुष २८, २०७९ बिहीबार १३:३८:३३ | रासस
unn.prixa.net

म्याग्दी - बेनी नगरपालिका–९ मा रहेकाे धार्मिकस्थल गलेश्वर मन्दिरमा पाँच महिनाको अवधिमा तीन करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।  गलेश्वर शिवालय क्षेत्र विकास कोषको बुधवार हिजाे भएको १७औँ कार्यकारी सभामा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनाको अवधिमा  तीन करोड ३७ लाख छ सय ४५ रुपैयाँ आम्दानी भएको जानकारी गराइएको हो । कोषका कोषाध्यक्ष कुमारी रोकाले कर्मचारी तलब, पूजा, संस्कृत विद्यालय र ज्येष्ठ नागरिक आश्रम सञ्चालनमा यस अवधिमा २० लाख दुई हजार रुपैयाँ खर्च भइ तीन करोड १६ लाख ९७ हजार रुपैयाँ बचत भएको जनकारी दिनुभयो। 

'गएकाे असारसम्मको आम्दानी दुई करोड ९० लाख ८२ हजार रुपैयाँ थियो', उहाँले भन्नुभयो, 'खातामा रहेको ब्याज, भक्तजनले चढाएको भेटी, दान र भाडालगायत शीर्षकमा भएको आम्दानीबाट खर्च कटाएर पाँच महिनाको मात्र २६ लाख १५ हजार रुपैयाँ बचत भएको छ ।' 

मेलापर्वमा भेटी २२ लाख ५६ हजार, मण्डप भेटी आठ लाख २२ हजार, ब्याज आम्दानी पाँच लाख ५९ हजार, यज्ञ दर्ताबापत एक लाख ६३ हजार, यात्री निवास शुल्कबाट एक लाख ३१ हजार, दान दुई लाख ५८ हजार ८६, जिन्सी सामान बिक्रीबाट एक लाख ९९ हजार र स्टल भाडा दुई लाख २२ हजार रुपैयाँ सङ्कलन भएको छ । 

आव २०७८/७९ मा ४० लाख ८५ हजार  भेटीसहित ९१ लाख ८२ हजार रुपैयाँ आम्दानी भएको थियो । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब दश करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।  

'गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरुपमा गनेर सार्वजनिक गर्ने गरिएको छ', उहाँले भन्नुभयो, 'भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।' जडभरत संस्कृत माविका तीन शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्न क्षेत्रका भान्छेलाई मासिक १७ हजार रुपैयाँ तलब मन्दिरको आम्दानीबाट दिने गरिएको छ ।   

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि रहेकाे गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दू धर्मग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमवार, बालाचर्तुदशी र शिवरात्रिमा विशेष मेला लाग्छ । अन्य समय दैनिक पूजाआजा हुने गलेश्वर मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया