सांसदहरू भन्छन्– ‘आफन्तलाई राजदूत बनाउँदा परराष्ट्र सम्बन्ध बिग्रियो’

 पुस २८, २०७९ बिहिबार १६:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

राष्ट्रिय सराेकार तथा समन्वय समितिकाे बैठक

काठमाण्डाै – सांसदहरूले वैदेशिक रोजगारीमा गएका नेपालीहरूको समस्या समाधानका लागि सरकारसँग आग्रह गरेका छन् ।

आज बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सांसदहरूले वैदेशिक रोजगारीमा गएका श्रमिकहरूको समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसदहरूले कुटनीति जानेको व्यक्ति राजदूतमा नियुक्त गर्न नसक्दा परराष्ट्र सम्बन्ध राम्रो बन्न नसकेको बताए । उनीहरूले राजदूत नियुक्ति गर्दा आफन्तहरू छान्न नहुने धारणा राखे । 

बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले वैदेशिक रोजगारीमा गएकाहरूले ज्यान गुमाउँदा शव ल्याउन किन ढिलाइ भइरहेको छ भन्दै सरकारलाई प्रश्न गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएकाहरूकाे समस्या छिटो र छरितो ढङ्गबाट गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीमा गएका युवाहरूलाई धेरै समस्या आउने गरेको सुनिरहेका छौँ । वैदेशिक रोजगारीमा जाँदा मृत्यु भएकाहरूको शव ल्याउन पनि धेरै समय लाग्ने समस्या भइरहेका छन् । यसलाई कसरी हटाउने र छिटो छरितो गर्ने भन्ने सोच्नुपर्छ ।’ 

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद जगतबहादुर पार्कीले विदेशी लगानी नभित्र्याइकन देशलाई समृद्ध बनाउन नसकिने बताउनुभयो । उहाँले वैदेशिक लगानी भित्र्याउने सन्दर्भमा धेरै समस्या रहेको भन्दै समस्याको समाधान गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो । उहाँले एउटा सरकारले गरेका निर्णयहरू अर्को सरकारले तोड्ने गरेकै कारण कतिपय विकास निर्माणका गतिविधिहरूमा समस्या हुने गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले विदेशी लगानी नल्याकन देशलाई समृद्धिको दिशामा बढाउन सक्दैनौँ । तर वैदिशक लगानी भित्र्याउने सन्दर्भमा धेरै खालका समस्या भइरहेका छन् । झापाको औद्योगिक पार्क निर्माण गर्ने भनेर केपी ओली सरकारको पालामा निर्णय भयो । अर्को सरकार आएपछि अघि बढ्न सकेन । विस्तृत परियाेजना प्रतिवेदन (डीपीआर) समेत भइसकेको अवस्थामा अहिले सम्झौता पनि हुन सकेन । चीनको लगानी आउने भइसकेपछि भारतले रोक्यो, शेरबहादुर देउवाले रोक्नुभयो भन्ने प्रचार बाहिर आएको छ । यसो गर्दा विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न आकर्षित हुन्छन् र ?’ 

नेकपा एमालेकी सांसद दीपा गुरुङले उत्पादन गर्न नसकेसम्म लगानी गर्नसक्ने अवस्था नहुने बताउनुभयो । उहाँले उत्पादन गर्दा आउने समस्यालाई समाधान गरेर अघि बढ्दै कर्मचारीको पूर्णता दिइ काम छिटो र छरितो बनाउनुपर्ने बताउनुभयो । 

नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले लगानी गर्न उद्यमीहरू उत्साहित नदेखिएको भन्दै उद्योगीहरूलाई लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले विदेशी लगानी भित्र्याउने कुरामा परराष्ट्र मन्त्रालयले नै आवश्यक नीति बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयाे । उहाँले नेपालसँग आयातमात्रै गर्ने तर निर्यात गर्ने कुरा केही नरहेको भन्दै उत्पादन बढाउने कुरामा ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले विदेशमा ज्यान गुमाएका नेपालीहरूको शव ल्याउन ढिलाइ भइरहेकोबारे सरकारको ध्यानाकर्षण पनि गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘लगानी गर्ने कुरामा उद्यमीहरू त्यत्ति धेरै उत्साही देखिँदैनन् । निर्यात गर्ने कुरामा परराष्ट्र मन्त्रालयले नै नीति बनाउने कुरामा समन्वय र पहल गर्नुपर्ने छ । हामी धेरै सामान आयात गर्छाैँ तर पठाउने कुरा केही छैन ।विदेशमा मृत्यु भएकाहरूको शव नेपालमा ल्याउन धेरै नै समस्या भएको छ ।’

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद शेखरकुमार सिंहले नेपाललाई आत्मनिर्भर बनाउन परराष्ट्र मन्त्रालयले आफ्नो भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले ४५ वर्ष अगाडि स्थापना गरिएका दूतावासहरूमा जनशक्ति थपेर सबल बनाउनुपर्ने माग गर्नुभयो । 

नेकपा एमालेका सांसद रामचन्द्र राईले अझै पनि नीतिगत व्यवस्थामा भएका कुराहरूको कार्यान्वयन हुन नसक्नु दुःखद भएको बताउनुभयो । उहाँले नीतिले भनेअनुसारको कुटनीतिक सम्बन्ध स्थापना गर्न नसक्दा विदेशी देशसँग नेपालको सम्बन्ध विस्तार हुन नसकेको बताउनुभयो । नेपालमा रहेका विदेशी राजदूतहरुले नेपालका राष्ट्रपति, प्रधानमन्त्रीसँग सिधा सम्पर्क स्थापना गर्न सक्ने भए पनि नेपाली राजदूतहरू भने सिधा सम्बन्ध विस्तार गर्न सक्ने स्थितिमा नहुनु राम्रो नभएको उहाँकाे भनाइ छ । 

नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्कीले वैधानिकरूपमा वैदेशिक रोजगारीमा जानेहरूको समस्या खासै नरहेको भए पनि अवैधानिकरूपमा जानेहरू भने धेरै समस्यामा पर्ने गरेको बताउनुभयो । उहाँले उनीहरूको उद्धार गर्ने कुरा चुनौतीको विषय बनेको बताउनुभयो ।

बैठकमा नेकपा एमालेका सांसद सोनाम गोल्जेन शेर्पाले नेपालको परराष्ट्र कुटनीति धेरै नै कमजोर रहेको धारणा राख्नुभयाे । उहाँले राजदूत नियुक्ति गर्दा कुटनीति जानेका व्यक्ति नभइ राजनीतिक दलहरूले आफन्तहरूलाई स्थान दिँदा परराष्ट्र सम्बन्धमा दरार पैदा भएको बताउनुभयो । उहाँले कस्तो व्यक्तिलाई राजदूत नियुक्त गर्ने भन्नेबारेमा स्पष्ट कानुन बनाउनुपर्ने माग गर्नुभयो । 

सांसद शेर्पाले हरेक दुर्गम जिल्लामा इलाका प्रशासन कार्यालयमा अख्तियार प्रतियोजन गरी राहदानी उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया