प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकको विजयी सुरुवात

 पुस २९, २०७९ शुक्रबार १२:३३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश एकले विजयी सुरुवात गरेको छ ।

आजको उद्घाटन खेलमा मधेस प्रदेशलाई ९ विकेटले हराउँदै प्रदेश एकले विजयी सुरुवात गरेको हो । सुनसरीको इटहरीमा टस जितेर पहिला ब्याटिङ गरेको मधेस प्रदेशले १९ ओभर २ बलमा अलआउट हुँदै ४९ रन बनाएको थियो ।

मधेस प्रदेशका सन्तोषी चौधरीले सर्वाधिक १२ रन बनाउँदा अरुले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । प्रदेश एकका सबनम राईले ४ तथा रुविना क्षेत्री र निशा शाहले दुई/दुई विकेट लिए । ५० रनको सामान्य लक्ष्य पाएको प्रदेश एकले ११ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो । उसका काजल श्रेष्ठले २४ तथा रुविना क्षेत्रीले अविजित २१ र अप्सरी वेगमले ३ रन बनाइन् ।

जितसँगै प्रदेश एकले अङ्कतालिकामा २ अङ्क जोडेको छ । आज हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशबीच खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको प्रतियोगिता आजदेखि सुरु भएको हो । यो प्रतियोगितामा सात वटा प्रदेश तथा एक विभागीय गरी ८ टोलीको सहभागिता छ । सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

दुई वटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल माघ ७ गते हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया