याे राजनीतिक महाभूकम्पकाे याेजनाकार ओली, मुख्य पात्र प्रचण्ड : गाैतम

 पुस २९, २०७९ शुक्रबार १६:३३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय सभाका सांसद वामदेव गौतमले देशको पछिल्लो राजनीतिक परिदृश्यको मुख्य योजनाकार केपी ओली भएको टिप्पणी गर्नुभएकाे छ । सांसद गौतमले देशमा राजनीतिक महाभूकम्प गएको र त्यसका योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली भएको टिप्पणी गर्नुभएको हो । तर मुख्य पात्रको भूमिकामा भने पुष्पकमल दाहाल प्रचण्ड रहेको उहाँको भनाइ थियो । 

राष्ट्रिय सभाको आज शुक्रवारको बैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्ने क्रममा उहाँले ओलीलाई महाभारतको कृष्ण र प्रचण्डलाई अर्जुनको उपमा दिँदै भन्नुभयो, ‘यो स्थिति ल्याउनुमा कृष्ण भएर भूमिका खेल्ने कमरेड केपी ओली हुनुहुन्छ, नेकपा (एमाले) का अध्यक्ष । मलाई धेरै पत्रकारहरूले यस पटक यो राजनीतिक महाभूकम्प ल्याउनेमा तपाईँले कसलाई मुख्य पात्र मान्नुहुन्छ भनेर साेध्नुभएकाे थियाे । मैले भनेँ– पात्र त प्रचण्ड नै हो । तर योजना बनाउन र त्यसलाई कार्यान्वयनमा ल्याउने काममा केपी ओली हुनुहुन्छ । महाभारतमा अर्जुन र कृष्णहरू छन् । कृष्णलाई मुख्य मान्छन् तर धुनवान चढाएर सबै–सबै समाप्त गर्ने त अर्जुन नै हो । यस पटक हाम्रो देशमा घटेको यो महाभूकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्गदर्शक केपी ओली । र मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’

सांसद गौतमले सबैको विश्वासको मत लिएर प्रधानमन्त्री बन्नुभएको भन्दै पुष्पकमल दाहल प्रचण्डलाई धन्यवादसमेत दिनुभयो । उहाँले सरकारलाई विश्वासको मत दिएकोमा कांग्रेस सभापति शेरबहादुर देउवाप्रति पनि आभार व्यक्त गर्नुभयो । सांसद गौतमले नेपालको संविधानमा केही पनि प्रतिपक्ष भन्ने नरहेको जिकिरसमेत गर्नुभयो । एउटै दलको नेतृत्वमा सरकार बन्दाबाहेक अन्य अवस्थामा प्रतिपक्षको व्यवस्था संविधानमा नरहेको सांसद गौतमको भनाइ थियो । 

सांसद गौतमले कांग्रेस नेताहरूले प्रतिपक्षको भूमिका निर्वाह गर्ने भनेर भनेकाले त्यसमा विश्वास गरेर अघि बढ्न उपयुक्त हुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया