महिला क्रिकेट : एपिएफ र लुम्बिनी विजयी

 पुस ३०, २०७९ शनिबार १८:१७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – इटहरीमा जारी प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफ क्लब र लुम्बिनी क्लबले विजयी शुरुवात गरेका छन् । 

इटहरीको जनता क्रिकेट पार्कमा शनिवार सम्पन्न पहिलो खेलमा एपिएफले गण्डकी प्रदेशलाई सात विकेट र लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै शुक्रवारबाट शुरु भएको प्रतियोगितामा विजयी शुरुवात गरेका हुन् ।

साविक विजेता एपिएफले गण्डकीबाट पाएको ५२ रनको समान्य लक्ष्य ८.४ ओभरमा तीन विकेट गुमाउँदै भेटाउँदै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । एपिएफका लागि कप्तान सीता राना मगरले अविजित १९ तथा रोमा थापाले अविजित १४ रनको पारी खेल्दा ओपनर ज्योति पाण्डेले ८ रनको योगदान गरिन् । यस्तै इन्दु बर्मा र सरिता मगर शुन्यमा पेवेलियन फर्किए । बलिङतर्फ गण्डकीका लागि तीनै विकेट कप्तान सृष्टि जैसीले निकालिन् । यस जितसँगै समूह ‘ए’ को एपिएफले समूह तालिकामा दुई अंक जोड्दा गण्डकीले हारबाट प्रतियोगिताको शुरुवात गरेको छ ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले पूरै २० ओभरमा सात विकेट गुमाएर मात्र ५१ रनको योगफल बनाउन सक्यो । गण्डकीका लागि कप्तान सृष्टि जैसीले सर्वाधिक १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन । १० रन अतिरिक्त पाएको थियो । गण्डकीलाई सस्तैमा रोक्ने क्रममा एपिएफका लागि सुमन बिष्टले तीन तथा नेरी थापा, सुस्मा श्रेष्ठ, सीता राना मगर र राजमती ऐरीले समान एक/एक विकेट हात पारे ।

शनिवार नै सम्पन्न दिनको दोस्रो खेलमा लुम्बिनीले प्रदेशले कर्णाली प्रदेशलाई ९८ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुवात गरेको हो । लुम्बिनीबाट पाएको १ सय ४८ रनको लक्ष्य पछ्याएको कर्णाली १८.१ ओभरमा सबै विकेट गुमाएर मात्र ४९ रनमात्र जोड्न सक्यो । जवाफी ब्याटिङ गरेको कर्णालीका लागि यमुना थारुले १३ र किरण कुँवरले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । कर्णालीलाई सस्तैमा समेट्ने क्रमममा कृतिका मरासिनी र मधु डिसीले समान तीन तथा सुस्मिता भुसालले दुई विकेट लिए । 

यसअघि जनता क्रिकेट पार्कमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरको समाप्तिमा सात विकेट गुमाएर १ सय ४७ रनको योगफल बनाएको थियो । पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक ३३ रन जोड्दा सरस्वती पुनले अविजित ३०, आस्मा पुलामी मगरले १४ र रञ्जु श्रेष्ठले १० रन बनाए । यस्तै कप्तान सरस्वती जिएमले ४ तथा सुस्मिता बजगाई शून्यमा पवेलियन फर्किएका थिए । कर्णालीले ४३ रन अतिरिक्त दिएको छ । जसमा ४३ बल वाइड बल रहेका थिए । बलिङ तर्फ कर्णालीका लागि  यमुना थारु र कप्तान विना थापाले समान दुई÷दुई विकेट निकाल्दा रमा बुढाथोकीले एक विकेट हात पारिन् ।

प्रतियोगितामा शुक्रवार पनि दुई खेल हुनेछन् । दिनको पहिलो खेल एपिएफ क्लब र वागमती प्रदेश तथा दोस्रो खेल मधेस प्रदेश र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा एक विभागीय टोलीसहित सात प्रदेशले सहभागिता जनाएका छन् । क्यानको आयोजना भएको प्रतियोगिता ७ माघसम्म चल्नेछ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया