सभामुखमा एमालेका घिमिरेको उम्मेदवारी दर्ता

 माघ ४, २०७९ बुधबार १३:२६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका सांसद देवराज घिमिरेले प्रतिनिधि सभाकाे सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

आज बुधवार बिहान नयाँ बानेश्वरमा रहेकाे सङ्घीय संसद् भवनमा पुगेर सांसद घिमिरेले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । सत्तारूढ दलको साझा उम्मेदवार रहनुभएका उहाँलाई एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले सभामुख पदका लागि प्रस्ताव गर्नुभएको थियो भने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएको थियो । 

प्रतिनिधि सभाका सभामुखको चुनाव माघ ५ गते बिहीवार (भोलि) हुँदैछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

सङ्घीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधि सभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एक महिला र फरक दलको हुनुपर्नेछ ।

विसं २०१३ मा ताप्लेजुङमा जन्मनुभएका घिमिरे २०५६ देखि २०६० सालसम्म राष्ट्रिय सभा सांसद हुनुहुन्थ्यो । उहाँ प्रतिनिधि सभा सदस्यमा झापा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो । उहाँले विद्यार्थी सङ्गठनबाट राजनीति सुरु गर्नुभएको थियो । विसं २०४९ मा एमालेको केन्द्रीय सदस्य हुनुभएको थियो । घिमिरेले एमालेको स्वास्थ्य विभागको अध्यक्ष भएर काम गर्नुभएको थियो । अहिले उहाँ एमालेको स्थायी समिति सदस्य हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया