प्रतिनिधि सभाका सभामुख घिमिरेको यस्तो छ राजनीतिक यात्रा

 माघ ५, २०७९ बिहीबार १५:४३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएको छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । संसदमा दुई सय ६८ जना सांसद उपस्थित रहेकोमा एक सय ६७ जनाले घिमिरेको पक्षमा मतदान गरेका छन् । एक सय जनाले घिमिरेको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार रहनुभएकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गरेका छन् भने एक जना तटस्थ बसेका छन् ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयो । घिमिरेलाई नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र स्वतन्त्र लगायतले समर्थन गरेका छन् । सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो । यस्तै उहाँको समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्यो ।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्थ्यो । उहाँको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियो ।

सभामुखमा निर्वाचित घिमिरे झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुनुहुन्छ । २०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिनुभएका घिमिरेले स्नातक तहसम्म अध्ययन गर्नुभएको छ । घिमिरे यसअघि २०५६ सालमा राष्ट्रिय सभा सदस्य हुनुभएको थियो । अहिले अर्जुनधारा नगरपालिका वडा ६ मा बस्दै आउनुभएका घिमिरे २८ हजार ७ सय १६ मत ल्याउँदै झापा २ बाट निर्वाचित हुनुभएको हो ।  उहाँले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गर्नुभएको हो । २०७५ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको प्रदेश एकको अध्यक्ष र २०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनपछि उहाँ एमालेको स्थायी कमिटी सदस्य हुनुभएको थियो । घिमिरेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका सबैभन्दा निकटमध्येका नेताको रूपमा चिनिन्छ । पञ्चायतकालमा १२ वर्ष भूमिगत राजनीति गर्दा घिमेरे पटक–पटक प्रहरी हिरासतमा रहनुभएकाे थियाे ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया