एमालेले राष्ट्रपतिकाे उम्मेदवार उठाउँछ, त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ : अध्यक्ष ओली

 माघ ५, २०७९ बिहीबार १७:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीले उम्मेदवारी दिने उल्लेख गर्दै त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्नुभएको छ । सत्तारूढ दलहरूबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको उहाँकाे भनाइ छ । 

बिहीवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष ओलीले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे भने पछि भन्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘एकदमै राष्ट्रिय सहमति हुनुपर्छ राष्ट्रपतिमा । नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो ।’

अध्यक्ष ओलीले सरकारलाई थितिमा बाँध्ने कुरालाई पिँजडा देख्नु अशुभको सङ्केत भएको बताउनुभयो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडाभित्र राख्न खोजेको टिप्पणी गर्नुभएको थियो । शर्माको त्याे अभिव्यक्तिलाई ओलीले अशुभको सङ्केतको रूपमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मानव समाज विभिन्न बन्धनबाट बाँधिएको हुन्छ । सामाजिक बन्धन हुन्छन् । इमानका बन्धन हुन्छन् । धर्मका बन्धन हुन्छन् । वाचाका बन्धन हुन्छन् । प्रचलनका बन्धन हुन्छन् । यी बन्धनहरूबाट समाज बाँधिएको हुन्छ । संविधान आवधिक कुरा हुन्छ । तर सामाजिक प्रचलन, वाचा, बन्धन, नैतिक बन्धन आदि कुराहरूको बन्धन चाहिँ स्थायी बन्धन हुन्छन् । यो समाजले लामो समय लगाएर बनाएको हो । त्यस कारण फुक्काफाल मन पराउने, जसो गरे पनि हुने, कार्यकारीमा भोट दिन मिल्ने, पार्टी छानीछानी भोट दिन मिल्ने, अर्को पार्टीको विरोध गर्नुपर्ने, सरकारको समर्थन गर्ने, सरकारमा हिस्सेदारको विरोध गर्ने यस खालका कुरा संयन्त्र बनेकोमा पनि विरोध गरेको सुनियो । मैले पहिले भनेको कुरा पनि उल्लेख गरेको सुनियो । संयन्त्र बन्नु पर्दैन । यो संविधानले नचिन्ने कुरा किन गर्ने भनेको कुरा स्मरण गर्दै बोलेको पनि सुनियो ।बेलगाम चल्ने कुरा, थितिमा नबाँधिने कुरा, प्रणालीमा नबाँधिने कुरा, प्रबन्धभित्र नबाँधिने कुरा, प्रबन्धभित्र बाँधिनुलाई पिँजडा ठान्ने कुरा यो नै अशुभको सङ्केत हो ।’

ओलीले यसअघिको गठबन्धन सरकारले रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिने क्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको बताउनुभयो ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया