सच्चा कम्युनिष्टहरूको एउटै केन्द्र बनाउन आवश्यक छ :  प्रधानमन्त्री प्रचण्ड

 माघ ६, २०७९ शुक्रबार १५:२२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सच्चा कम्युनिष्टको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँगको छलफलमा प्रधानमन्त्रीले यस्ताे बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, 'संविधानमा समाजवाद उन्मुख नेपालको व्यवस्था सामान्य अर्थमा लेखिएको होइन । नेपाली विशेषताको समाजवादी बाटोका बारेमा अहिले पनि बहस चलिरहेको छ । नेपालका सबै कम्युनिष्ट पार्टीबीच यस विषयमा छलफल सुरू भएको छ । तपाईंहरूको रचनात्मक भूमिका रहने अपेक्षा छ ।'

भेटमा नेकपा (बहुमत)का नेताहरूले प्रधानमन्त्री दाहालसमक्ष राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित विभिन्न माग प्रस्तुत गरेका थिए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले ध्यानाकर्षण गराएकोमा बास्तोला नेतृत्वको टोलीलाई धन्यवाद दिँदै सरकारको न्यूनतम साझा कार्यक्रममा ज्ञापनपत्रमा उठाइएका प्रायजसाे विषय समेटिएको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, 'राष्ट्रिय पुँजीको संरक्षण गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध छ । अहिलेको परिस्थितिमा कसरी अधिकतम काम गर्न सकिन्छ भन्नेमा चनाखो छु ।' उहाँले जनयुद्ध, थारु, मधेसलगायत  विभिन्न आन्दोलन र सङ्घर्षका क्रममा जेलमा रहेका बन्दीहरू रिहाइका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो । यसअघि नै अध्यादेशमार्फत् विधेयक ल्याउने भनिएकोमा संसद् सञ्चालन भएकाले यो विषयमा अब संसदबाट नै विधेयक पास गर्ने उहाँको भनाइ छ । 

नेकपा (बहुमत)का नेता बास्तोलाले बन्दी अवस्थामा रहेका नेता कार्यकर्ताको रिहाइ, जनजीविकाका विषयमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनुभएको थियो । प्रधानमन्त्रीले ज्ञापनपत्रका उल्लेख भएका प्रायजसाे विषयको सम्बोधनका लागि सरकारको तर्फबाट आवश्यक पहल गर्ने विश्वास दिलाउनुभएको थियो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया