मधेशका सहिदप्रति माैनधारण नगरेकाेबारे लिङ्देनकाे भनाइ : संसदकाे एउटा मर्यादा हुन्छ

 माघ ७, २०७९ शनिबार १४:३९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसदमा आफैंले सहिदहरुको सम्मान भन्दै मौनधारण गर्न लगाएको दावी गर्नु भएको छ । 

मधेशका सहिदहरुप्रति सरकार र संसदले सम्मान नगरेको भन्दै गएकाे माघ ५ गते बसेको प्रतिनिधिसभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले मौन धारण गर्न लगाउनु भएको थियो । त्यो काम संसदीय मर्यादा र नियम विपरीत भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरुले मौन धारण गर्ने काममा सहभागी नभएको पनि उपप्रधानमन्त्री लिङदेनले स्पष्ट पार्नु भयो ।

उहाँले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको पनि उल्लेख गर्नु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका लिङ्देनले आफूहरुले त्यस क्रममा सहिदहरुलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि सबैलाई आह्वान गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘माघ ५ गते बैठक थियो त्यहाँ मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने अथवा मधेशका सहिदहरुका प्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठने र नउठनेको विषय बाहिर प्रचारमा आईरहेको छ । सम्माननीय प्रधानमन्त्री अगाडि हुनुहुन्थ्यो । उहाँको उपप्रधानमन्त्री म थिएँ । हामी उठेनौं । यसको  अर्थ बाहिर के गइरहेको छ भने कि हामीले मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरुका प्रति हाम्रो चाँही सम्मान छैन भन्ने अर्थमा प्रचार गरिराखिएको छ । तर संसदको एउटा मर्यादा हुन्छ । एउटा नियम हुन्छ । र, रुलिङ सभामुखको चल्छ । यति कुरा पनि दोस्रो कार्यकाल संसदमा आएको मैले बुझिन भने, म कुनै भावना वा बहानाले बगे भने त्यसले संसदीय परम्परामा राम्राे छाप छोड्दैन । कि त त्यो विषय सभामुखले रुलिङ गर्नु पर्‍यो । कि मेरो प्रधानमन्त्री उठनु पर्‍यो । त्यसकारण हामीले यो भ्रम नरहोस् । हामीले त्यो विषयप्रति अनादर गरेको होइन । मलाई लाग्छ प्रधानमन्त्रीले पनि गर्नु भएको होइन । यसरी गलत प्रचार जानु हुँदैन । हामीले संसदीय मर्यादा भंग गर्नु हुँदैन भन्ने तथ्यलाई ध्यानमा राखेर हामी नउठेको हो भन्ने कुरा यो संसदले पनि बुझोस्, बाहिरी समाजले पनि बुझोस् भन्ने कुरा भन्न चाहन्छु ।’

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया