‘पढ्दै कमाउँदै कार्यक्रम’मा रमाउँदै विद्यार्थी

 माघ ८, २०७९ आइतबार २०:११:३८ | रासस
unn.prixa.net

काठमाण्डौ – सुर्खेत बराहाताल गाउँपालिकाको जनज्योति माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र सुदीपसिंह सुनार विद्यालयमा पढाइसँगै कृषिमा पनि आबद्ध हुनुहुन्छ । 

विद्यालयले सुरु गरेको ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत उहाँ पढाइसँगै कृषिमा पनि आबद्ध हुनु भएकाे हाे । कृषिमा आबद्ध उहाँले पढाइ खर्च पनि यसैबाट जुटाइरहनु भएको छ भने विद्यालयमा सिकेको आधुनिक कृषिको सीप बुबा–आमालाई पनि सिकाउन पाउनु भएको छ ।  

‘विद्यालयमा कृषिको आधुनिक सीप बुवाआमालाई पनि सिकाइरहेको छु,’ उहाँले भन्नुभयो, ‘अहिले उहाँहरु पनि व्यावसायिक कृषि गरिरहुनभएको भने यसले उत्पादन पनि बढाएको छ ।’

सुदीपजस्तै विद्यालयमा अध्ययनरत धेरैजसो विद्यार्थी पढ्दै कमाउँदै कार्यक्रममार्फत् कृषिमा आबद्ध भएका छन् । साथै अभिभावकलाई पनि कृषिसम्बन्धी आधुनिक सीप सिकाएर आत्मनिर्भर हुन प्रेरित गरिरहेका छन् । 

‘हामीले कृषिसँग सम्बन्धित प्राविधिक ज्ञान व्यवहारमा पनि लागू गरेका छौँ,’ कक्षा ९ कि स्मृति राना भन्नुहुन्छ, ‘विद्यालयमा सिकेको कृषि उत्पादन गर्ने तरिका घरमा गएर सिकाउँछौँ । यसले प्राविधिक ज्ञानसमेत सिक्न पाएका छौँ ।’

पहिले परम्परागत तरिका अपनाउँदा तरकारी किनेर खानुपर्ने बाध्यता आधुनिक तरिका अपनाएपछि हटेको उहाँको भनाइ छ । विद्यार्थीले ‘पढ्दै कमाउँदै कार्यक्रम’मार्फत् कृषि तथा पशुपालन गर्दै आएका छन् । जुन नेपालकै पहिलो नमूना कार्यक्रम हो । त्यसबाट हुने आम्दानी विद्यार्थी आफ्नो शिक्षामा खर्च गर्दै आएका छन् । 

कार्यक्रममा सहभागी अर्की छात्रा मनिसा तारामीले कार्यक्रममा सहभागी भएकाले  सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि दिएको बताउनु भयो । जनज्योति माविका शिक्षक नारायणविक्रम जिसीले शिक्षालाई आयआर्जनसँग जोड्न सके परनिर्भरता हट्ने र स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले कार्यक्रम अघि बढाएको बताउनुभयो । 

‘हामी शिक्षालाई व्यावहारिक बनाउन चाहान्छौँ,’ उहाँले भन्नुभयो, ‘पढेर विदेश जाने बाध्यतालाई अन्त्य गर्न विद्यालयबाटै गरिखाने दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमै काम गर्ने वातावरण तयार गर्ने विद्यालयको लक्ष्य हो ।’

बराहाताल गाउँपालिकाले पनि पढ्दै कमाउँदै कार्यक्रमलाई प्रत्येक विद्यालयमा लागू गर्नेयोजना बनाएको छ । गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुन मगरले भन्नुभयो, ‘नेपालमै नमूना कार्यक्रमका रुपमा जनज्योति मावीले ‘पढ्दै कमाउँदै कार्यक्रम’लाई पालिकाभरका विद्यालयमा लागू गर्ने योजना बनाएका छौँ । विद्यालयलाई जग्गा उपलब्ध गाराइदिने र व्यवहारिक शिक्षामा जोड दिने गाउँपालिकाको योजना छ । 

विसं २०६८ देखि प्राविधिक विषय अध्यापन सुरु भएको माविमा २६ जिल्लाका विद्यार्थी अध्ययन गर्न आउने गरेका छन् । कृषि विषय अध्ययन गर्ने विद्यार्थीलाई च्याउ खेती, पशुपालन, तरकारी खेतीका लागि ऋणसहित खेतीयोग्य जमिन उपलब्ध गराइएको छ । विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीले कृषि उत्पादनमा लागेर विद्यालयको मासिक शुल्क बुझाएर बचतसमेत गर्ने गरेका छन् । यो कार्यक्रमलाई अहिले सङ्घीय सरकारलेसमेत अपनत्व लिँदै देशभर नै लागू गर्न सुरु गरेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया