प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयमा कांग्रेसभित्र असन्तुष्टि

 माघ ९, २०७९ सोमबार ७:४५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । नेता शेखर कोइराला पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् ।

कोइराला पक्षधर सांसदहरुको हिजोको बैठकमा प्रधानमन्त्रीलाई कांग्रेसले दिएको विश्वासको मत, पार्टी नेतृत्वको कार्यशैली र माघ १५ गते बस्ने केन्द्रीय समिति बैठकलगायतका विषयमा छलफल भएको छ । भोलि फेरि बैठक बसेर आफ्नो रणनीति तय गर्ने उनीहरुको तयारी छ ।

प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नु नेतृत्वको कमजोरी भएको भन्दै उनीहरुले पार्टी सभापतिको कार्यशैलीको आलोचना गरेका छन् । यसअघि पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने विषयमा कांग्रेसमा विरोध भएको थियो ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु गलत हुने भन्दै असहमति जनाएका थिए । त्यसबेला सभापति शेरबहादुर देउवाले पदाधिकारीहरूसँग छलफल गरेर त्यसबारे निर्णय लिने प्रयास गरे पनि विरोध बढ्न थालेपछि अन्तिम समयमा कार्यसम्पादन समितिबाट विश्वासको मत दिने निर्णय भएको थियो ।

देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सभामुख र उपसभामुखको चुनावमा फरक समीकरण बनाउन प्रयास गरे पनि त्यो सफल भएको छैन । कोइराला पक्षधर नेताहरुले सभापति देउवाबाट फेरि गल्ती भएको भन्दै अब पार्टीलाई सही ढङ्गले अघि बढाउन प्रभावकारी योजनाका साथ अघि बढ्नुपर्ने बताएका छन् ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया