गण्डकी प्रदेश : पाँच मन्त्रालय घटाउने सहमति, जिम्मेवारी बाँडफाँट टुङ्गिँदै

 माघ ९, २०७९ सोमबार १३:२:५३ | रासस
unn.prixa.net

फाइल तस्बिर

कास्की - गण्डकी प्रदेश सरकारले १२ मन्त्रालयलाई घटाएर सातमा पुर्याउने भएको छ । सरकारका प्रवक्ता एवम् मन्त्री सीताकुमारी सुन्दासले सत्तारूढ दलहरुबीच मन्त्रालय घटाउने विषयमा सहमति भएकाे बताउनुभयो ।

'कुन मन्त्रालय कसले पाउने भन्ने विषय भने छलफलमै छ, आजै बेलुकीसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना छ', उहाँले भन्नुभयो । विनाविभागीय मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले जिम्मेवारी बाँडफाँटमा दलहरुबीच सहमति जुटिनसकेको बताउनुभयो ।

प्रदेशको व्ययभार घट्ने गरी गण्डकी सरकारले लिएको मन्त्रालय कटौतीको निर्णयलाई धेरैले सकारात्मक कदमका रुपमा लिएका छन् । यसअघिको सरकारले मन्त्रालयको सङ्ख्या १२ पुर्याएको थियो । मन्त्रालय घटाउने विषयमा छलफल लम्बिँदै जाँदा मन्त्रिपरिषद् विस्तारले पनि समय लिएको जनाइएको छ ।

प्रदेशले नयाँ मुख्यमन्त्री पाएको १५ दिन बितिसक्दा पनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन । विनाविभागीय मन्त्रीका रुपमा शपथ लिनुभएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरु कामविहीन स्थितिमा हुनुहुन्छ । विभागीयमन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित भइरहेका जनाइएको छ ।

गएकाे पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । विनाविभागीय मन्त्रीको हैसियतमा नेकपा (माओवादी केन्द्र) का हरिबहादुर चुमान, नेकपा (एमाले) बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहनुभएको छ । मन्त्रालय घटाउने निर्णयसँगै अब थप तीन मन्त्री मात्र नियुक्त हुनुहुनेछ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया