राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने, समयमै चुनाव गर्न माग

 माघ ९, २०७९ सोमबार १३:१९:५८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज सोमवार बिहान बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।साथै  कांग्रेसले राष्ट्रपति चुनाव समयमै हुनेगरी आवश्यक कानुनी व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । बैठकले ५ वर्षे कार्यकाल पूरा भएको दिन नयाँ राष्ट्रपति पदबहाली हुने गरी राष्ट्रपति चुनावको तयारी गर्न सरकार र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको हो ।

संविधान र ऐनमा यस चुनावबारे केही विरोधाभाष देखिएकाले त्यसलाई हटाइ समयमै राष्ट्रपतिको चुनाव हुने गरी आवश्यक तत्परता देखाउन सरकार र निर्वाचन आयोगलाई सचेत गराइएको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रपतिमा आफ्नो उम्मेदवार जिताउनका लागि सम्पूर्ण खालको, एकताबद्ध तागत लगाउने आजको बैठकको निचोड छ । संविधान र ऐनको विषयमा केही विरोधाभाष देखिएको छ । मुख्यगरी संविधानको जे प्रबन्ध छ । संविधानको प्रबन्ध अनुसार राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दैछ । राष्ट्रपतिको कार्यकाल ५ वर्ष पुग्दै गर्दा त्यो दिन अर्को राष्ट्रपति हामीले पदबहाली गर्न मिल्ने गरी संविधान, कानुन र यसका मर्मअनुसार अर्को राष्ट्रपति त्यो ठाउँमा, पुर्याउने गरी चुनाव गर्नुपर्छ । फागुन २८ गतेसम्म अर्को राष्ट्रपति तयार भएर पुरानो राष्ट्रपति बिदाइ हुने र नयाँ राष्ट्रपतिलाई बहाली गर्ने अवस्था सृजना गर्नुपर्छ । त्यसका लागि नेपाल सरकार र निर्वाचन आयोगले तत्परता देखाउनु पर्छ।’

बैठकमा पार्टी सभापति देउवाले राष्ट्रपति चुनावमा पार्टीको सम्पूर्ण शक्ति परिचालन हुने गरी एकताबद्ध हुन पार्टीका नेताहरुलाई सचेत गराउनु भएको थियो । राष्ट्रपतिमा पार्टीको उम्मेदवारलाई जिताउने गरी पार्टीलाई एकताबद्ध बनाएर लैजाने निर्णय बैठकले गरेको सहमहामन्त्री पाण्डेले बताउनु भयो ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया