प्रिमियर लिगमा आज लिभरपुल र साउथह्याम्टन तथा युनाईटेड र इपस्व...
मंसिर ९, २०८१ आइतबार
काठमाण्डौ – जुनिचाँदे गाउँपालिकामा पाँच महिनादेखि औषधि सकिएको छ तर अहिलेसम्म पनि खरिद गरिएको छैन ।
एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन स्वास्थ्यचौकी, सात आधारभूत स्वास्थ्य केन्द्र र ११ सामुदायिक स्वास्थ्य इकाइ रहेको जुनिचाँदेमा पाँच महिनादेखि औषधि अभाव भएको हो ।
२० लाख रुपैयाँभन्दा बढीको औषधि खरिद गर्दा बोलपत्र आह्वान गर्नुपर्ने भए पनि पटक–पटक ‘कोटेसन’ गरेर औषधि खरिद गरेको पाइन्छ तर यहाँ पाँच महिनादेखि औषधि अभाव भएको छ ।
दुई पटक थोरै परिमाणमा औषधि बोलपत्र आह्वान नगरी ल्याइएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर शाहीले बताउनुभयो । ‘औषधि छिट्टै आउँदैछ, स्वास्थ्य संयोजक काठमाण्डाैबाट आएपछि बाँड्ने योजना छ,’ उहाँले भन्नुभयो ।
बिरामीलाई स्वास्थ्यकर्मीहरूले औषधि नदिने र सीटामोललगायत अन्य औषधिहरूसमेत निजी मेडिकलबाट किनेर खानोस् भनेर पठाउने गरेको स्थानीय बताउँछन् ।
जुनीचाँदे–११ का कैलो नेपाली, दमले सताएपछि औषधि लिन स्वास्थ्य चौकी कोर्ताङ्ग जाँदा औषधि विना नै फर्किनुपरेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, ‘स्वास्थ्य संस्थाका नानीहरूले मेडिकलबाट औषधि किनेर लिनु भनेका थिए, पैसा नभएपछि खाली हात घर फर्किएँ ।’
प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा भेटिएका जुनिचाँदे–४ का सकरे खड्काले स्वास्थ्य केन्द्रले सीटामोलसमेत नदिएको गुनासो गर्नुहुन्छ ।
केही दिनदेखि रुघाखोकी र ज्वरोले ग्रसित बन्नुभएका खड्काले भन्नुभयो, ‘उपचार गर्न आएको थिएँ, डाक्टरले सीटामोलसमेत दिएनन् ।’
चिसोका कारण रुघाखोकी र ज्वरोले ग्रसित बन्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था जाने र खाली हात फर्किने कैलो र सकरे जस्तै धेरै बिरामी छन् ।
प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटको एक्स–रे मेसिन प्रयोगविहीन भएको छ । पाँच वर्षअघि खरिद गरिएको एक्स–रे मेसिन हालसम्म पनि प्रयोगमा आएको छैन । स्वास्थ्य केन्द्रमा विद्युत् र भवन नहुँदा एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
केन्द्रलाई पाँच वर्ष पहिला राष्ट्रिय बीमा संस्थानले १६ लाख रुपैयाँको एक्स–रे मेसिन दिएको थियो । सोलार पावरबाट एक्स–रे मेसिन चलाउन नसकेपछि प्रयोगमा ल्याउन नसकिएको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका प्रमुख बलबहादुर शाहीले बताउनुभयो ।
‘विद्युत् अभावकै कारण एक्स–रे मेसिन प्रयोगमा ल्याउन सकिएको छैन,’ उहाँले भन्नुभयो । विद्युत् नआउँदासम्म जेनरेटरबाट मेसिन चलाउन सकिने भए पनि जेनेरेटर र भवनका लागि पालिकासँग माग गर्दा सुनुवाइ नभएको उहाँले बताउनुभयो ।
स्वास्थ्य केन्द्र एक्स–रे सेवा नहुँदा यहाँका बिरामी सामान्य उपचारका लागि पनि नेपालगञ्ज र सुर्खेत जानुपर्ने बाध्यता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।