कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने

 माघ १०, २०७९ मंगलबार ७:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसले प्रमुख विपक्षी दलको सुविधा पाउने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयका उपसचिव रामहरि थापाले हिजो बेलुका सिंहदरबारमा रहेको कांग्रेस संसदीय दलको कार्यालयलाई पत्र लेखेर यसबारेमा  जानकारी गराउनुभएको छ ।

संसद् सचिवालयले कांग्रेस संसदीय दलको कार्यालयलाई लेखेको पत्रमा प्रतिनिधि सभामा शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग गरेको र त्यसअनुसार सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरु र अनुसूची–१ तथा अनुसूची–२ बमोजिम हुने ब्यहोरा उल्लेख छ ।

सङ्घीय संसद् सचिवालयले यसअघि पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख विपक्षी दलको हैसियतमा प्राप्त गर्ने सुविधा माग गरेको आधारमा पत्र लेखिएको जनाएको हो । विपक्षी दलका नेताले प्रतिमहिना पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ पाउनेछन् ।

त्यस्तै विशेष भत्ता प्रतिमहिना १ हजार, बैठक भत्ता प्रतिदिन १ हजार, सञ्चार सुविधा प्रतिमहिना ३ हजार, आवास सुविधा प्रति महिना २५ हजार ६ सय ८ रुपैयाँ पाउनेछन् । त्यस्तै फर्निचर खर्च एकमुष्ट १५ हजार, निजी सचिवालय बन्दोबस्त १ हजार ७ सय ५०, गाडीकाे इन्धन प्रतिमहिना २३० लिटरलगायतको सुविधा पनि प्राप्त गर्नेछन् ।

त्यस्तै विपक्षी दलका नेतालाई स्वकीय सचिव, गाडी चालक र सुरक्षालगायतका सेवा पनि उपलब्ध हुन्छ । पुस २६ मा प्रतिनिधि सभामा उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाउनुभएको थियो ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले विपक्षमा मतदान गर्नुभएको थियो । सरकारलाई विश्वासको मत दिएपछि कांग्रेसले प्रमुख विपक्षी दल बन्ने आधार नरहेको भन्दै नेमकिपाका सांसद प्रेम सुवालले सदनमै प्रश्न उठाएर आफ्नो दललाई प्रमुख विपक्षी दलको मान्यता दिन आग्रह गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया