गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै मेरो पहिलो काम : स्वास्थ्य मन्त्री गिरी

 माघ १०, २०७९ मंगलबार १४:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले जनमुखी र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह नै आफ्नो प्रमुख लक्ष्य र उद्देश्य रहेको बताउनुभएको छ ।

मङ्गलवार शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने प्रमुख लक्ष्य र संकल्प रहेको बताउनु भयो । मन्त्री गिरीले स्वास्थ्यका प्रणालीहरु चुस्त, दुरुस्त बनाइ स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको विकास गर्न आफूले चाहेको पनि बताउनु भयो । उहाँले स्वास्थ्य सेवालाई चुस्त बनाउनको लागि मन्त्रालय आवश्यक काम गर्न तयार रहेको बताउनु भयो । उहाँले नेपालको स्वास्थ्य क्षेत्र सबैभन्दा भरपर्दो, गुणस्तरीय, अब्बल छ भन्नेकुरा सावित गर्ने बनाउनु आफ्नो दायित्व भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पुरानो संरचना भत्काउँदै छौँ । नयाँ संरचना बन्दैछ । यही स्थानमा ३०० बेडको अस्पताल स्थापना गर्छौं । यो खुसीको कुरा हो । ३ सय बेड पनि पर्याप्त होइन ५ सय बेडको बनाउनुपर्छ । पछिल्ला दिनमा हामी थप्दै जानेछौँ । यो बीचमा यो अस्पतालले उपयुक्त स्थानमा सम्पूर्ण उपचार गर्नेगरी अस्थायी रुपमा भएपनि उपचारको व्यवस्था गर्नुपर्छ । मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ । हामी सबैको एउटै संकल्प छ, त्यो भनेको तीन करोड नेपाली जनतालाई कसरी गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्ने हो, स्वास्थ्यका प्रणालीहरु कसरी चुस्त, दुरुस्त बनाउने भन्ने हो । हाम्रो स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरुलाई कसरी अन्त्य गर्दै सुदृढ स्वास्थ्य प्रणालीको रुपमा विकास गर्न सकिन्छ, यो चिन्ताको विषय हो ।’

मन्त्री गिरीले स्वास्थ्य क्षेत्रलाई जनतामुखी, जवाफदेही र गुणस्तरीय बनाएर सबै जनतामा स्वास्थ्यको पहुँच पुर्‍याउनु आफ्नो पहिलो काम भएको बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया