सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गयाे : वरिष्ठ नेता पौडेल

 माघ १०, २०७९ मंगलबार १४:५४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – देशलाई बचाउनका लागि सबै राजनीतिक दलहरुले एकताबद्ध भएर अघि बढनुपर्नेे बेला आएको नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलको बताउनु भएकाे छ । 

मङ्गलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले देशमा निराशाको कालो बादल मडारिएको उल्लेख गर्दै त्यसलाई फटाउनका लागि पनि दलहरु एक ठाउँमा उभिएर अघि बढनुपर्ने तर्क गर्नु भयो । वरिष्ठ नेता पौडेलले सत्ता राजनीतिको दबदबाले निष्ठाको राजनीति किनारामा पर्दै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नु भयो । उहाँले वर्तमान संविधानमाथि देशभित्र र बाहिरबाट समेत प्रहार भइरहेको भन्दै त्यसलाई जोगाउन पनि कांग्रेस र कम्युनिष्ट दुवै शक्तिहरुले मिलेर अघि बढनुपर्ने बताउनु भयो ।

वरिष्ठ नेता पौडेलले भन्नु भयो, ‘यो संविधान ल्याउनका लागि देशभित्र र बाहिर सबैबाट षडयन्त्र भइरहेको छ। यसलाई बचाउनका लागि सबै दलहरु एक ठाउँमा हुने कि नहुने ? यसलाई जोगाउनका लागि एक ठाउँमा हुने कि नहुने ? कांग्रेस र कम्युनिष्ट एक ठाउँमा मिल्ने कि नमिल्ने ? यी दुईटाले ल्याएको यो व्यवस्था हो । त्यसकारण यतातिर पनि हामी गम्भीर हुन जरुरी छ। राजनीतिक अस्थिरताबाट देशलाई जोगाउनु छ। र, अराजतकताबाट देशलाई बचाउनु छ । लोकतन्त्र जकडिएको अवस्थामा छ। लोकतन्त्र जकडिएको अवस्था छ। अति दलबन्दीबाट लोकतन्त्र जकडिएको अवस्थामा छ। पूर्वाग्रहहरुबाट लोकतन्त्र जकडिएको अवस्थामा छ। र, यो विभाजित मानसिकताबाट लोकतन्त्र जकडिएको अवस्थामा छ। विभिन्न राजनीतिक सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्थामा छ । र, यो जकडिएको लोकतन्त्रलाई कसरी जोगाएर सबल बनाएर अगाडि बढाउने । यसको लागि पनि सहमतिको खोजी गर्नु पर्छ कि पर्दैन ? म यो प्रश्न गरिरहेको छु। र, हाम्रो सामाजिक, सांस्कृतिक स्खलन पनि डरलाग्दो छ। सामाजिक मूल्यहरुको स्खलन, सांस्कृतिक मूल्यहरुको स्खलन त्यो भइरहेको छ।'

उहाँले अगाडि भन्नुभयाे, 'यो पनि एउटा देशीय संकटको रुपमा छ। यो संकटबाट मुक्त हुनका लागि एक हुने कि नहुने ? यो प्रश्न छ। र, यो नकारात्मक र निराशाका घण्टीहरु भर्खरै बजिरहेका छन्। नकारात्मक प्रवृत्तिहरु जुन किसिमले आइरहेका छन्। र, यसलाई हामीले कसरी सकारात्मक दिशा दिने, कसरी ती असन्तुष्टिहरुलाई ठीक ठाउँमा ल्याउने दायित्व पनि हाम्रो हो कि होइन ? बजीसक्यो असन्तुष्टि घण्टी, त्यसलाई सम्बोधन गर्ने कि नगर्ने ? त्यसका लागि एकताको आवश्यक्ता पर्छ कि पर्दैन ? यो पनि मेरो प्रश्न छ। वास्तवमा मलाई भनौ कि नभनौँ–नेतृत्वको अभाव जस्तो अनुभव हुँदैछ । देशीय नेतृत्वको अभाव र, देशीय नेतृत्वको अभाव मात्रै होइन। देशीय आत्मविश्वासको अभाव । यहाँ सानासाना कुरामा पनि हामी त कहीँ गइहाल्यो नि भन्ने । आत्मविश्वास छैन । आफूप्रति विश्वास छैन । देशीय आत्मविश्वासको पनि अभाव आज यो देशिय संकटको रुपमा देखिराखेको छु । यो सत्ताको राजनीतिको दबदबा र निष्ठाको राजनीति किनारा लाग्दै जाने, कुनाकुना पाखातिर जाने, निष्ठाको राजनीति किनारा लाग्दाखेरीमा उत्पन्न भएका हुन् यी देशीय असन्तुष्टिहरु । त्यसो भएको हुनाले हामीले यतापट्टि निष्ठाको राजनीतिलाई जोगाउनका लागि पनि एकताको खोजी गर्ने कि नगर्ने ? भन्ने मलाई लाग्दछ ।’

वरिष्ठ नेता पौडेलले रेमिटयान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाइ देशको समृद्धिमा योगदान दिने काममा ढिलाइ गर्न  नहुने पनि जोड दिनु भयो । देश निर्माणका लागि पनि हरेक लगानी उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने उहाँले बताउनु भयो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया