देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले नतिजामुखी काम गर्न कठिनाइ : गृहमन्त्री

 माघ १०, २०७९ मंगलबार १७:४८:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशका संयन्त्रहरु ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताउनु भएको छ ।

ठूला दलहरुले थिलथिलो बनाएको देश संयन्त्रका कारण आफूलाई नतिजामुखी काम गर्न समस्या भएको उपप्रधानमन्त्री लामिछानेको आरोप थियो ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले ती संयन्त्रहरुको सुधारको काममा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारीकर्मीहरु र क्रसर उद्योगको विषयमा निर्णय लिन ढिलाइ भएको उल्लेख गर्दै अब केही दिन भित्रै नतिजा आउने गरी काम हुने बताउनु भयो । त्यसका लागि गृह मन्त्रालयले सम्वेदनशील भएर काम गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाइ थियो ।

उहाँले देशका संयन्त्रहरुलाई हिजो चलाए जस्तो गरेर चलाउन छोडिदिए गृह मन्त्रालय अन्तर्गतको आधा समस्या आफैँ हल भएर जाने अवस्थामा रहेको पनि उल्लेख गर्नु भयो ।

उपप्रधानमन्त्री लामिछानेले भन्नु भयो, ‘देशका संयन्त्रहरुलाई थिलथिलो बनाएर छाडिएको छ । काम गर्नेहरुलाई कानुन पालना गराउनु भन्दा पनि आदेश पालना गराउने गरी यति निरीह बनाएर राखिएको छ । वर्षौँ शासनसत्ता सम्हालेका दलहरुबाट यसलाई थिलथिलो बनाइयो । जसबाट त्यसरी थिलथिलो बनाउन, कमजोर बनाउनका निमित्त कामहरु भए । त्यही कोणबाट धेरै प्रश्नहरु आउने रहेछन् । यो मैले अनुभव गरेको छु । तर म त्यसको प्रतिउत्तर होइन, काममा माध्यमबाट, रिजल्टका माध्यमबाट, परिणामका माध्यामबाट ती जवाफहरु गरिमामय संसदमा आफैँ उपस्थित हुन भन्ने चाहना राखेर काम गर्न चाहन्छु ।’

उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरुलाई आग्रह गर्नु भयो । संसदमा एकले अर्कालाई होच्याउनेजस्ता  गतिविधि आफू र आफ्नो दलले नगर्ने र अन्य दलहरुबाट पनि नहोस् भन्ने आफूले अपेक्षा गरेको पनि उहाँले बताउनु भयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया