सिद्धार्थ राजमार्ग : वर्षाैँदेखि स्तरोन्नतिको पर्खाइमा

 माघ १२, २०७९ बिहिबार ८:३७:१० | रासस
unn.prixa.net

फाइल तस्बिर

स्याङ्जा - पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडक खण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठ्दै आएको छ ।

स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताउनुभयो । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभयो । 'सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन', वालिङ नगरका मेयर कृष्ण खाण बताउनुहुन्छ ।

स्याङ्जालीको भविष्यसँगै जोडिएको यस राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उहाँको भनाइ छ । 'सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ', खाणले भन्नुभयो । भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने सडकको स्तरोन्नति जरुरी छ । 

सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताउनुहुन्छ । 'वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक खण्डकाे स्तरोन्नति आवश्यक छ', उहाँले भन्नुभयो । सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । सडकका घुम्ती काट्दा र चौडा बनाउँदा अहिले सडक खण्डको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ । घुमाउरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुने गरेको पाइएको छ । 

सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको यस राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । अहिले यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा  छ । अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ । स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन्। 

विस्तारित सडक खण्डमा ४७ हेक्टर वन क्षेत्र पर्छ । यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ । सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया