गृहमन्त्री लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाइ चल्दै

 माघ ११, २०७९ बुधबार १४:८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ सुरु भएको छ । 

अमेरिकी नागरिकता र राहदानी त्याग नगरी नेपाली नागरिकता र राहदानी लिएको भन्दै लामिछानेविरुद्ध मुद्दा परेको छ । यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि सुनुवाइ भएको हो ।

रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नितिका ढुंगानालगायतले बहस गर्नुभएको छ ।

बहसका क्रममा उनिहरुले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीहरूलाई अहिलेसम्म नबुझाएकाले नेपाली नागरिकता नै अवैध रहेको तर्क गरेका छन् ।

यसअघि रवि लामिछानेलाई सांसद र मन्त्रीको रुपमा शपथ रोक्न माग गर्दै परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन मानेको थिएन ।

अन्तरिम आदेश जारी नभएपछि रविले सांसद हुँदै उपप्रधान तथा गृहमन्त्रीको समेत शपथ लिनुभएको थियो ।

लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया