‘एउटा अनागरिकले के उत्तर दिने’ : लामिछाने

 माघ १३, २०७९ शुक्रबार २०:२५:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – सर्वोच्च अदालतको फैसलाले सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद गुमाउनुभएका रवि लामिछानेले अदालतको फैसलालाई स्वागत गर्ने प्रतिक्रिया दिनुभएको छ । 

अदालतको फैसलापछि आज गृह मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा लामिछानेले सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय नरहेको र अदालतको फैसलालाई आफूले स्वागत गरेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने ।’ 

सर्वोच्चको फैसलामा तपाईँको प्रतिक्रिया के छ  भनी पत्रकारले सोधेको प्रश्नमा लामिछानेले भन्नुभयो, ‘तपाईँहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ,  कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ, म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन ।’

सर्वोच्च अदालतले आज उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गरेपछि मन्त्री तथा सांसद पद दुवै गुमेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेविरुद्धको मुद्दामा निर्णय सुनाएको हो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया