पछिल्लो राजनीतिक परिस्थितिबाट आत्तिनुपर्ने अवस्था छैन, संवैधानबाटै हल निकाल्नुपर्छ : नेता नेम्वाङ

 माघ १४, २०७९ शनिबार १५:४२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – सत्तारुढ नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङले देशको पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।

सर्वोच्च अदालतको फैसलापछि गृहमन्त्री रवि लामिछानेले पद त्याग गर्नु परेको प्रसंग उल्लेख गर्दै उहाँले ती समस्यालाई संविधान अन्तरगत नै हल गरेर अघि बढ्न आफूहरु सक्षम रहेको पनि पटकपटक दोहोर्‍याउनु भयो । शहीद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष नेम्वाङले नेपाली जनता आफैंले बनाएको संविधान बुद्धिमानीपूर्वक कार्यान्वयन गर्न पनि राजनीतिक दलहरु सचेत हुनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।

संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई दलहरुले आफ्नो बुद्धि, विवेक र क्षमता प्रर्दशन गरेर कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाई थियो ।

उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतकाे निर्णयले हाम्रो गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो नि । अब के हुन्छ ? यी सबै घटनाक्रमहरुलाई स्वभाविक रुपमा जनताले बनाएको यो संविधान अन्तरगत हामी यसलाई एउटा टुंगोमा पुर्‍याउन सक्षम छौं । यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन । मिश्रित निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो ।'

यस्तै उहाँले यही संविधान अन्तर्गत रहेर जुनसुकै समस्यालाई समाधान गर्ने पनि बताउनुभयाे । अप्ठ्यारा, कमीकमजोरीका बाबजुद यीनै दल र दलका नेताहरुले देशलाई यो ठाउँसम्म ल्याई पुर्‍याएका हुन् भन्दै कमीकमजोरीको बाबजुत यी र यीनै दलका नेताहरुले देशलाई एउटा सकारात्मक निष्कर्षमा पुर्‍याउने पनि उहाँले धारणा राख्नुभयाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया