मनाङ अस्पतालमै छैन एम्बुलेन्स

 माघ १४, २०७९ शनिबार १६:५१:२४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

मनाङ – जिल्ला अस्पताल मनाङमा एम्बुलेन्स नभएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स अभावका कारण बिरामी समयमै स्वास्थ्य उपचार पाउनबाट वञ्चित हुँदैआएका छन् ।

एम्बुलेन्स अभावका कारण बिरामी उपचारका लागि अन्य गाडीमा कष्टकर यात्रा गर्न बाध्य छन् । पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ । पर्यटक तथा स्थानीयलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सको एकदमै खाँचो रहेको जिल्ला अस्पतालका प्रशासन विभागका प्रमुख रहमद अन्सारीले बताउनुभयो ।

“अस्पतालसित एम्बुलेन्स छैन, गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था भएमा एम्बुलेन्स खोज्दाखोज्दै बिरामीको ज्यान जाने हो कि भन्ने त्रास हुन्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार गाउँपालिकामा भएका एम्बुलेन्स बिग्रिएर थन्किएका छन् ।

जिल्ला रेडक्रस सोसाइटीसित भएको एम्बुलेन्स मनाङ ङिस्याङ गाउँपालिकामा बिग्रिएर थन्किएको छ । सदरमुकाम चामे गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएको छ । “अस्पतालसित आफ्नै एम्बुलेन्स एकदमै आवश्यक छ”, अन्सारीले भन्नुभयो ।

एम्बुलेन्सका लागि रेडक्रसको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्न अस्पतालले स्थानीय, प्रदेश र सङ्घीय  सरकारलाई गुहार्दै आएको छ । प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले पटक–पटकको बैठकमा एम्बुलेन्सको आवश्यकताबारे छलफल गरी सम्बन्धित निकायसँग माग गर्दैआएको  बताउनुभयो । “स्थानीयलाई सहज स्वास्थ्य उपचार प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा उपलब्ध गराउन प्रतिवद्ध भइ सम्बन्धित निकायसँग समन्वय  गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

एम्बुलेन्स अभाव हुँदा गएकाे वर्ष बिरामी हुँदा हेलिकप्टर चार्टड गरेर पोखरा गएको स्थानीय कर्मछिरिङ गुरुङले बताउनुभयो । सरकारले एम्बुलेन्स सेवा उपलब्ध गराएको अवस्थामा नागरिकले सास्ती भोग्नु नपर्ने उहाँको भनाइ छ । मनाङमा कोही  गम्भीर बिरामी भएमा अस्पताल पुर्‍याउन हेलिकप्टरको भर पर्नुपर्ने हुन्छ । तर यहाँको मौसम अधिकांश समय प्रतिकूल रहने हुँदा सडककै भर पर्नुपर्ने स्थानीयवासी बताउँछन् । 

अन्तिम अपडेट: मंसिर १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया