राष्ट्रपति चुनावकाे कार्यतालिका : फागुन १३ गते उम्मेदवारी दर्ता, २५ गते चुनाव

 माघ १६, २०७९ सोमबार १३:४३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे कार्यतालिका सार्वजनिक गरेको छ ।   

आयोगको निर्णयअनुसार आउँदाे फागुन २५ बिहीवार राष्ट्रपतिको र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको चुनाव गर्ने गरी मिति तोकिएको छ । दुवै पदका लागि तोकिएको दिन नयाँ बानेश्वरमा रहेकाे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र मतदान केन्द्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

दुवै पदका लागि सङ्घीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन् । विद्यमान कानुनी प्रावधानका कारण आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र नसकिएको जनाएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको चुनावका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । साथै फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ । 

उपराष्ट्रपतिको चुनावका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने लगायतका कार्यक्रम तय गरिएको छ ।

नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने संवैधानिक व्यवस्था छ ।

२०७४ साल फागुन २९ मा भएको राष्ट्रपतिको चुनावमा निर्वाचित हुनुभएका वर्तमान राष्ट्रपतिको पदावधि २०७९ साल फागुन २८ गते समाप्त हुने भएको र २०७४ साल चैत ४ गते निर्विरोध निर्वाचित हुनुभएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुने भएकाले त्यसअघि नै चुनाव सम्पन्न गर्ने गरी मिति तोकिएको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ र ५ बमोजिम आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनावकाे मिति घोषणा गरी त्यसकाे जानकारी सरकारलाई दिनुपर्ने छ । साथै त्यससम्बन्धी सूचना राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन २०७४ को दफा ४ तथा दफा ५ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने भएकाले त्यसका लागि सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई आयोगले लेखी पठाउनेछ ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया