पत्रकारलाई संसद् भवनमा राेक्नुपर्ने कुनै कारण छैन : सभामुख घिमिरे

 माघ १६, २०७९ सोमबार १७:४०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सभामुख देवराज घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमवार संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँग परिचयात्मक भेटघाट गर्दै सभामुख घिमिरेले पत्रकारहरूलाई संसदमा सहजरूपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो ।

उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचार सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद् भवनमा पत्रकारहरूलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद् सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने घिमिरेकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मिडियाले भइरहेका कुराहरू समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने हाे । देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरू र गरिएका निर्णयहरूलाई लिएर पत्रकारहरूलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठेराे पार्नुपर्ने हुँदैन । सही कुरा रोक्नका लागि संसद्, संसद् सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरू छैन । आउँदैन । आउनुहुँदैन ।’

सभामुख घिमिरेले समाजलाई सचेत गराउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमजोरीलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया