धनुषा : फरार ६ थुनुवामध्ये एक जना पक्राउ, पाँच जनाको खोजी हुँदै

 माघ १७, २०७९ मंगलबार ६:५३:४० | रासस
unn.prixa.net

धनुषा - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ मा रहेकाे इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल ताेडेर सोमवार हिजाे बिहान ६ जना थुनुवाहरू फरार भएका थिए ।

हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सर्च टोली फरार थुनुवामध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो । मिथिला नगरपालिका–६ का २८ वर्षीय महतोलाई हिजाे बेलुका पुनः पक्राउ गरिएको जिल्ला प्रहारी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिनुभयो । उनीमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियारसहित गएकाे शनिवार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौनामा रहेकाे आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो । प्रहरी हिरासतबाट फरार अन्य पाँचजनाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताउनुभयो । हिरासतबाट ६ जना थुनुवा एकैसाथ फरार भएपछि ड्युटीमा रहेका इलाका प्रहरी कार्यालयका दुई प्रहरीलाई निलम्बन गरिएको छ भने घटना छानबिनका लागि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयले छुट्टाछुट्टै समिति बनाएका छन् ।

लागुऔषध, हातहतियार, अभद्र व्यवहारका सातजना थुनुवामध्ये ६ जना थुनुवा हिरासत कक्षको पर्खाल भत्काएर फरार भएका थिए । पुरानो भवनमा रहेको हिरासत कक्षको शौचालयकाे ढोका फोरेर बिहान ३ बजे थुनुवाहरू फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताउनुभयो ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया