संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तियाे : माधव नेपाल

 माघ २१, २०७९ शनिबार १४:२०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधानको उल्लङ्घन गर्नेहरु नै सरकारमा जाँदा सङ्कट निम्तिएकाे बताउनुभएकाे छ । 

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न सक्ने अवस्था नरहेको जिकीर समेत गर्नु भयो । ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठक उद्घाटन गर्दै उहाँले वर्तमान तरल राजनीतिक अवस्था कहिलेसम्म रहने हो ? भनि प्रश्न समेत गर्नुभयो । संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरु, राजतन्त्रको वकालत गर्नेहरु, संविधान, कानुन र नियमको पालना नगर्नेहरु सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको तर्क गर्नुभयो । उहाँले रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै जनताले उनीहरुको विरोधमा बोल्न थालेको समेत बताउन भयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्यो भन्दा पहिले नै हामीले देखिरहेका छौं–खटपट सुरु भइसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरु कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संविधानको उल्लङ्घन गर्ने मान्छेहरु सरकारको जिम्मेवारीमा बसिरहेका छन् भने त्यसले संकटको सन्देश दिन्छ ।’

अध्यक्ष नेपालले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया