सुदूरपश्चिम प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सर्‍याे

 माघ २६, २०७९ बिहिबार १४:३५:२६ | विमल बिष्ट
unn.prixa.net

डाेटी – सुदूरपश्चिम प्रदेशको आज बिहीवार दिउँसो १ बजे बोलाइएको प्रदेश सभाको बैठक आजै दिउँसाे ४ बजे बस्ने गरी सारिएको छ ।

प्रदेश सभा सचिवालयले टाँस गरेको सूचनामा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सभामुखको निर्देशनमा दिउँसाे ४ बजे बस्ने गरी सारिएको जनाइएको छ । यसअघि हिजो बुधवार बोलाइएको बैठक पनि स्थगित गरेर आज १ बजेका लागि बोलाइएको थियो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज प्रदेश सभाबाट विश्वासको मत लिने अन्तिम दिन हो । प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता रावल गएकाे पुस २७ गते संविधानको धारा १६८ (२) बमोजिम एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपासहित प्रदेशसभाका बहुमत सदस्यको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिइ सक्नुपर्छ । ५३ सदस्यीय प्रदेश सभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन २७ मत आवश्यक पर्छ ।

सत्ता गठबन्धनमा निर्णायक शक्तिका रूपमा देखिएको नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभाका सदस्य विश्वासको मत दिने आधार नबनेको जनाउँदै अहिले पनि काठमाण्डाैमै रहनुभएको बताइएको छ । योसँगै मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस भएको छ । नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका बन्दी रिहाइको माग गर्दै आएको छ । 

प्रदेश सभामा सत्तापक्षीय नेकपा एमालेका १०, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका सात र राप्रापाका एक सदस्य हुनुहुन्छ । विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी) का चार र एक स्वतन्त्र सदस्य हुनुहुन्छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया