जनयुद्ध दिवस अब नेपालकै सम्पत्ति : प्रधानमन्त्री प्रचण्ड

 फागुन १, २०७९ सोमबार ११:१८:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस अब नेपालकै सम्पत्ति भएको बताउनुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसको अवसरमा देशभर सार्वजनिक बिदा दिएको बताउनु भयो ।

उहाँले आफूले यस पटकको सरकारको नेतृत्वलाई चुनौतीपूर्ण अवसरको रुपमा लिएको उल्लेख गर्दै असफल हुने छुट नरहेको उल्लेख गर्नुभयो । उहाँले  सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नुको विकल्प नरहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री प्रचण्डले केही समयदेखि सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेको उल्लेख गर्दै जनयुद्धको औचित्य पुष्टि गर्नु अपरिहार्य भएको बताउनु भयो । उहाँले फेरि एक पटक नयाँ सङ्कल्पसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै सबै माओवादी आन्दोलनका विभिन्न धाराका समूहलाई एकताबद्ध भएर सामाजिक न्याय र रुपान्तरणको निम्ति अघि बढ्न अपिल गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट र समाजवादी आन्दोलनका शक्तिहरुसँग पनि समाजवादी मोर्चा बनाएर जाने सैद्धान्तिक सहमति भइसकेको उल्लेख गर्दै छिट्टै पार्टी एकताको अर्को एउटा प्रक्रिया अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको नेतृत्व गर्नुलाई मैले चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु । हामीलाई असफल हुने बिल्कुलै छुट छैन । हामीले सामाजिक न्याय, सुशासन र आर्थिक विकासको क्षेत्रमा फड्को मार्नु नै पर्नेछ । यसरी मात्रै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनालाई ठिक ढङ्गले कार्यान्वयन गर्न सकिन्छ । केही समयदेखि सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा कयौँ कोणबाट प्रश्न उठाउने कोसिसहरु भइरहेका छन् । यस्तो बेलामा यो परिवर्तन ल्याउने प्रमुख आन्दोलन र त्यसको नेतृत्वले यसको औचित्य सिद्ध गर्न दृढताकासाथ अघि बढ्नुको कुनै विकल्प छैन ।’

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा विकासको नयाँ फड्को आजैदेखि सुरु गर्ने बताउनुभयो । उहाँले नेपालमा पहिलो राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सुदूरपश्चिम प्रदेशमा स्थापना गर्ने बताउनु भयो । 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया