टर्कीमा भूकम्प गएकाे १ सय ७८ घण्टापछि ७० वर्षीया महिला र ६ वर्षीया बालिकाकाे उद्धार

 फागुन १, २०७९ सोमबार १८:५०:५३ | एजेन्सी
unn.prixa.net

टर्कीमा भूकम्प गएको एक सय ७८ घण्टापछि एक ७० वर्षीया महिला र छ वर्षीया बालिकाको जीवितै उद्धार भएको छ । हाते प्राप्तमा भत्किएको एउटा तीन तले घरको भग्नावशेषबाट ७० वर्षीया महिला र अदियामानमा रहेको एक अपार्टमेन्टको भग्नावशेषबाट छ वर्षीया बालिकाको जीवितै उद्धार भएको उद्धारकर्मीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि गाजियन्टेप प्रान्तमा पनि भूकम्प गएको एक सय ७० घण्टापछि ४० वर्षीय पुरुषको जीवितै उद्धार भएको थियो । भग्नावशेषमा पुरिएको लामो समयसम्म पनि जीवितै उद्धार हुनुलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले चामत्कारिक घटना भनेका छन् । विज्ञहरूले भने भवन वा संरचना भत्किँदा च्यापिएका, थुनिएका वा फसेका व्यक्तिको अवस्थिति, पानी र श्वास फेर्ने पहुँच, त्यहाँको मौसमको अवस्था र शारीरिक तन्दुरुस्ती लगायत विभिन्न कुराहरूले उनीहरू कति समय बाँच्न सक्छन् भन्ने निर्धारण गर्ने बताउँछन् ।

संयुक्त राष्ट्र सङ्घले विनाशकारी घटना भएको पाँचदेखि सात दिनसम्म खोजी र उद्धार जारी राख्ने गरेको छ । तर यस्तो निर्णय पनि लगातार एक वा दुई दिनसम्म जीवित मानिसहरूको उद्धार हुन नसकेको अवस्थामा मात्रै लिइन्छ ।

यसैबीच टर्कीमा सोमवार बिहान र दिउँसो गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३६ हजार नाघेको छ । टर्कीमा ३१ हजार छ सय ४३ जना र सिरियामा चार हजार छ सय १४ जना गरी ३६ हजार दुई सय ५७ जनाको ज्यान गएको अलजजिराले जनाएको छ ।

तस्बिर : एल'ओरियन्ट टुडेबाट

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया