७० नम्बर ल्याउँदा चालक हुन पाउने व्यवस्थाले राजस्व ४० प्रतिशत घट्छ : राजेन्द्र पाण्डे

 फागुन ३, २०७९ बुधबार १४:४६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताउनुभएको छ ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको निर्देशिकाअनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको विरोध गर्नुभएको हो । यस निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उहाँको भनाइ छ । त्यसो हुनु गलत भएको उहाँले बताउनुभयो । 

सांसद पाण्डेले यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजस्व घट्ने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परीक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो कुराले सरकार गलत बाटोमा छ र यदि लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ । ७० नम्बर ल्याउनेलाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनुहुँदैन । यदि यस्तै हुने हो भने गाउँमा नागरिकता टोली आउँदा टेबल राखेर नागरिकता बाँडेझैँ बाँडिदिए भइगयो नि त । अब नेपालका लाइसेन्सहरू दुई खालका हुने भए । मोटरसाइकल, स्कुटर, मोपेड, कार, जीप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने भयो । ट्रक, बस, ट्याङ्कर, एक्स्काभेटर, डोजर आदिलाई १०० नम्बर नै ल्याउनपर्ने भयो । उही सडकमा गुड्दा दुई खालको लाइसेन्स प्रयोग हुने भयो । दुई वटा मापदण्ड हुने भयो । यो कुराले धेरै कुरामा असर पार्न सक्छ । यसले ४० प्रतिशत राजस्व घटाउँछ । राज्यको अरू खर्च बढ्दै जान्छ । यो कार्यले झन् धेरै दुर्घटना बढाउँछ ।’ 

सांसद पाण्डेले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रियस्तरमा अमान्य हुनसक्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Suresh Kumar Shrestha

    Feb. 17, 2023, 12:53 a.m.

    त्यसोभए सधैं फेल मात्रै गरिरहनु,अनि राजस्व अझै बढी उठ्छ त? जनता मारा निच मानसिकताबाट ग्रसित कमाउनिस्ठ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया