माझी समुदायले मनाए लदी पर्व

 फागुन १८, २०७९ बिहिबार १३:३२:२९ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा – धनकुटाको कुशेटारका माझी समुदायले पछिल्लो समय लोप हुँदै गएको लदी पर्व धुमधामका साथ मनाएका छन् ।

नदीहरुमा पुल बन्न थालेपछि माझी समुदायको मुख्य पेशा माछा मार्ने, मानिसहरुलाई डुङ्गा (नाउ) बाट नदी तार्ने काम संकटमा परेको थियो । मानिसहरुलाई नदी तार्ने काम बन्द भएपछि लदी पूजा पनि बन्द भएको थियो । पेशा संकटमा परेपछि धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारमा २०५७ सालदेखि लदी पर्व हुन सकेको थिएन । त्यस्तै द्वन्द्वकालमा पनि नदीमा लदी पूजा हुन सकेको थिएन ।

तर, २२ वर्षपछि कुशेटारका माझी समुदायले लदी पर्व मनाएको स्थानीय फुलमाया माझीले बताउनु भयो । अल्पसंख्यक समुदाय अन्तर्गत पर्ने माझी समुदायले परापूर्व कालदेखि नै खोलाको किनारमा बसी माछा मार्ने डुङ्गा (नाउ) मा राखेर मानिसहरुलाई नदी तार्ने काम गर्दथे । उनीहरु सधैँ खोला तथा नदीको नजिक बस्ने र त्यसैमा आश्रित हुने भएकाले पर्व गर्ने परम्परा रही आएको बताइन्छ ।

लदी पूजा गर्नाले माझी समुदायको मुख्य पेशाको रुपमा परिचित पुर्ख्याैली पेशा नदीमा डुङ्गा (नाउ) चलाउँदा र माछा मार्दा कुनै पनि जोखिम आउँदैन भन्ने विश्वास रहेको छ । यसका साथै नदीमा पौडी खेल्दा बगाउँदैन भन्ने मान्यता समेत रहेको छ ।

वर्षात्काे समयमा नदीले वर्षेनी विभिन्न ठाउँमा मानवीय, भौतिक र आर्थिक क्षति पुर्‍याइरहेको छ । त्यस्ता किसिमका कुनै पनि मानवीय, भौतिक र आर्थिक क्षति नपुर्‍याओस् भनेर नदीको पर्व गरिँदै आएको स्थानीय नवीन माझीले बताउनु भयो । लामो समयदेखि लदी पूजा बन्द भएको हुँदा यसको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले यस वर्षदेखि बुढापाकासँगको सहकार्यमा युवाहरुको अग्रसरतामा पर्व मनाउन थालिएको नवीनले बताउनु भयाे । 

लदी पूजामा आएका माझी समुदाय मौलिक पोशाक गुन्यू चोली र फेटा इस्टकोटमा सजिएका थिए । आफ्नै समुदायमा समेत यसको महत्वबारे उजार गर्न आवश्यक रहेको नवीनले बताउनु भयो ।

माझी समुदायले मुख्य पर्वको रुपमा मनाउने यस पर्वको संरक्षण गर्न आवश्यक रहेको स्थानीयले बताए । माझी समुदायको पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाएर सरकारी तवरबाट संरक्षणको पहल हुनुपर्ने उनीहरुको माग छ । मुख्य गरेर धनकुटाको साँगुरीगढी र चौबिसे गाउँपालिकाको तमोर छेउछाउमा माझी समुदायको बसोबास रहँदै आएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया